logo
२०८१ मंसिर १० सोमवार



ताराले थाल्यो इलाम–काठमाडौँ उडान

अर्थ |


ताराले थाल्यो इलाम–काठमाडौँ उडान


कोकिला ढकाल

इलाम, फागुन १२ गते । तारा एयरलाइन्सको ट्वीनअटर जहाजले बुधबारदेखि इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा नियमित व्यावसायिक उडान सुरु गरेको छ । साताको दुई दिन उडान भर्नेगरी तारा एयरलाइन्सले उडान सुरु गरेको हो । जहाजको नियमित उडान गराउन सहज बनाउने उद्देश्यले इलाम नगरपालिकाले पनि लगानी गरेको छ । तारा एयरसँग नगरपालिकाले १२ हप्ताका लागि ११ जना यात्रु सुनिश्चित गर्ने र यात्रु नभए भाडाबापतको रकम नै दिने सम्झौता गरेको छ ।

यसका लागि नगरपालिकाले १० लाख रुपियाँ छुट्याएको जनाएको छ । “नियमित सेवा दिन सकिन्छ र यात्रुको आकर्षण बढ्छ भनेर हामीले त्यसकिसिमको सम्झौता गरेका हौँ,” इलाम नगरपालिका प्रमुख महेश बस्नेतले भन्नुभयो । उडान सुरु भएपछि पर्यटन क्षेत्रमा पनि उत्साह थपिएको व्यवसायी बताउँछन् । ट्रेकिङ एसोसिएसनका केन्द्रीय अध्यक्ष खोम सुवेदीले पर्यटकलाई पठाउने नयाँ गन्तव्यका रूपमा इलामलाई लिएको बताउनुभयो ।

नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर्सका अध्यक्ष अच्युत गुरागाईंले पनि इलामलाई नयाँ गन्तव्यका रूपमा लिएर विदेशी पर्यटक पठाउन आफूहरू तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “भारतबाट आउने अर्का किसिमका पर्यटकलाई पहाड ल्याउन पहल र पशुपतिनगरमा रहेको अध्यागमन सुचारु गराउन सरकारको विशेष पहल जरुरी छ । ” काठमाडौँस्थित इलाम विकास समाजका अध्यक्ष राधेश्यम लेकालीले काठमाडौँ र इलाम दूरी एकै घण्टाको भएपछि यहाँको पर्यटनले फड्को मार्ने अपेक्षा व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?