logo
२०८१ बैशाख २२ शनिवार



पहिलो पटक इन्टरलक इँटा उत्पादन सुरु

अर्थ |
प्रदेश |


पहिलो पटक इन्टरलक इँटा उत्पादन सुरु



चन्द्र पन्दाक
ताप्लेजुङ, फागुन १२ गते । ताप्लेजङमा नयाँ प्रविधिको इन्टरलक इँटा उत्पादन गर्न थालिएको छ । स्थानीय माटो, बालुवा र सिमेन्टको प्रयोग गरेर बनाइने इन्टरलक इँटा जिल्लामै सम्भावतः पहिलो पटक उत्पादन गर्न थालिएको बताइएको हो ।
सदरमुकाम फुङ्लिङबजारका युवा व्यवसायी लक्ष्मी काफ्लेले उद्योग स्थापना गरी इन्टरलक इँटा उत्पादन गर्न थाल्नुभएको हो । जिल्लामै इन्टरलक इँटा उत्पादन हुन थालेपछि उक्त प्रविधिको इँटाको माग हुन थालेको छ । तत्काल इँटा उद्योगबाट सोचेजस्तो फाइदा नभए पनि सम्भावना भने राम्रो रहेको व्यवसायी काफ्लेले बताउनुभयो । उहाँले बिस्तारै सदरमुकाम क्षेत्रमा घर लगायतका संरचना निर्माणमा इन्टरलक इँटाको माग हुन थालेको जानकारी दिनुभयो ।
करिब छ लाख रुपियाँ लगानी गरेर उद्योग सुरु गरेको र अहिले धमाधम इन्टरलक इँटा उत्पादन भइरहेको काफ्लेले बताउनुभयो । हिजोआज निजी घर निर्माण गर्ने र सामुदायिक सङ्घ÷संस्थाका संरचना निर्माणमा इन्टरलक इँटाको प्रयोग हुँदै आएको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार इन्टरलक इँटा प्रतिगोटा ६० रुपियाँले बिक्री हुने गरेको छ ।
जिल्लामा बालुवा र सिमेन्ट महँगाे पर्ने भएकाले हालको मूल्यले खासै फाइदा नहुने पनि उहाँको भनाइ छ । नयाँ प्रविधिको इन्टरलक इँटा जिल्लामा नौलो भएकाले सुरुमा ईंटाको बजार व्यवस्था र बिस्तार योजनासहित फाइदा नराखी मूल्य निर्धारण गरेर बिक्री गरिँदै आएको छ । बिस्तारै इन्टरलक इँटाबारे प्रयोगकर्ताले बुझ्न र थाहा पाउन थालेपछि बजारमा माग सुरु भएको काफ्लेले बताउनुभयो ।
इन्टरलक इँटा हेर्दा आकर्षक देखिन्छ भने भूकम्प प्रतिरोधी संरचनाहरू निर्माणमा यो ईंटा को प्रयोग प्रभावकारी हुने बताइएको छ । यस्तै, संरचना निर्माण कार्यमा सजिलो र छिटो हुने भएकाले इन्टरलक इँटाप्रति प्रयोगकर्ता आकर्षित हुँदै गएका पाइएको छ । व्यवसायी काफ्लेका अनुसार अहिले सदरमुकाममा घर निर्माण गर्नेहरुबाट इँटाको अर्डर (माग) हुन थालेको छ ।
यता काफ्लेले इन्टरलक इँटा उद्योग सुरु गरेपछि केहीलाई रोजगारीसमेत मिलेको छ । उद्योगमा हाल दुई पुरुषसहित छ जना मजदुर कार्यरत रहेका छन् । हाल इन्टरलक इँटाको माग र बजार बिस्तारको क्रम सुरु भएकाले उद्योगमा काम गर्ने जनशक्ति बढाउने योजनामा रहेको उद्योग सञ्चालक काफ्लेले जानकारी दिनुभयो ।

जिल्लामै पहिलो पटक उत्पादन गर्न थालिएको इन्टरलक इँटा। तस्बिर ः चन्द्र पन्दाक ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?