logo
२०८० चैत्र १५ बिहीवार



अस्वाभाविक रूपमा चिनीको मूल्यवृद्धि

चिनीको मूल्य प्रतिकेजी एक सय रूपियाँ छ । लागत मूल्य ९२/९३ रूपियाँ रहेकाले अहिले ९५ रुपियाँ ५४ पैसामा बजारमा चिनी उपलब्ध गराउन सकिने विभागको निष्कर्ष छ ।

अर्थ |


अस्वाभाविक रूपमा चिनीको मूल्यवृद्धि


काठमाडौँ, फागुन १३ गते । अहिले नेपाली चिनी उद्योगले उत्पादन गरिरहेका छन् । चिनीको माग पनि यो समयमा कमै हुन्छ । तर, यसैबेला चिनीको मूल्य बढेर प्रतिकेजी एक सय रुपियाँ पुुगेको छ । चिनीको बजार सन्तुलन गर्ने काममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको साल्ट ट्रेडिङसँग चिनीको मौज्दात सकिँदै जाँदा चिनीको बजार उद्योगी/व्यापारीको हातमा पुगेको हो । चालू आर्थिक वर्ष सरकारले साल्ट ट्रेडिङ कर्पोरेसनलाई अनुदानको चिनी आयात गर्न अनुमति नदिएकाले बजारमा चिनी उद्योगी तथा व्यापारीको मनपरी बढेको उपभोक्ता अधिकारकर्मीले आरोप लगाउँदै आएका छन् ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार बजारमा चिनीको मूल्य प्रतिकेजी एक सय रुपियाँ पुगेको छ । गएको माघ दोस्रो सातासम्म प्रतिकेजी ९० देखि ९५ रुपियाँमा कारोबार भएको चिनी अहिले प्रतिकेजी एक सय रुपियाँ पुगेको सङ्घले जनाएको छ । यो मूल्य विगतका तुलनामा धेरै हो । चिनीको अत्यधिक माग हुने तिहारमा समेत चिनीको मूल्य प्रतिकेजी ९० रुपियाँ थियो ।

उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले साल्ट ट्रेडिङसँग चिनीको मौज्दात सकिएसँगै चिनी उद्योगीले चिनीको मूल्य बढाएको बताउनुभयो । “अहिले त चिनी उत्पादनको सिजन हो, बजारमा चिनीको ठूलो परिणामको माग हुने बेला पनि होइन तर पनि बजारमा चिनी महँगो भएको छ,” यसबारे खोजी गर्न सरकारसँग आग्रह गर्दै तिमल्सिनाले भन्नुभयो ।

उपभोक्ताकर्मी प्रेमलाल महर्जनले चिनीमा कालाबजारी भइरहेको बताउनुभयो । “साल्ट ट्रेडिङसँग मौज्दात चिनी थियो भने व्यापारीले चिनीमा मनलाग्दी गर्न पाउने थिएनन् । उपभोक्ताले पनि अहिलेभन्दा सस्तोमा चिनी उपभोग गर्न पाउँथे,” उपभोक्ता अधिकारकर्मी महर्जनले थप्नुभयो ।

विभागद्वारा अध्ययन
बजार अनुगमन गर्ने जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी उद्योगीसँग चिनी उत्पादनको लागत मूल्य र आयात गरेको मूल्यको विवरण मागेर अध्ययन गरेको छ । विभागका बजार निरीक्षक अधिकृत धनेश्वर पौडेलका अनुसार विभागले गएको बुधबार सङ्घलाई पत्राचार गर्दै चिनी उत्पादनको लागत मूल्यको यथार्थ विवरण बुझाउन निर्देशन दिएको थियो ।

उद्योगीले पठाएको विवरणमा चिनीको उत्पादन लागत मूल्य ९२/९३ रुपियाँ रहेकाले अहिले ९५ रुपियाँ ५४ पैसामा बजारमा चिनी उपलब्ध गराउन सकिने विभागको निष्कर्ष छ । विभागका निर्देशक एवं प्रवक्ता हरि पङ्गेनीले चिनीको बिक्रीमा विभिन्नखाले समस्या रहेको गुनासो आएपछि सङ्घलाई चिनीको आपूर्ति अवस्था र लागतको सम्पूर्ण विवरण माग गर्दै पत्र काटेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उत्पादन लागत र आपूर्तिको यथार्थ अवस्थाको विवरण माग गरेका छौँ, कस्तो विवरण आउँछ । त्यस आधारमा विभागले अर्को निर्णय लिनेछ।’

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?