नेपाल इन्टरमोडेल यातायात विकास समितिले मुलुकको वैदेशिक व्यापार सहजीकरणका लागि विभिन्न ठाउँमा एकीकृत जाँच चौकी (आईसीपी), सुक्खा बन्दरगाहजस्ता पूर्वाधार निर्माण तथा व्यवस्थापनको मूल जिम्मेवारी पाएको छ । समिति उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत विकास समितिका रूपमा क्रियाशील छ । प्रस्तुत छ, सो समितिको काम, भावी योजना, संस्थागत विकासलगायतका विषयमा गोरखापत्रका गोपालचन्द्र सुवेदीले समितिका कार्यकारी निर्देशक आशिष गजुरेलसँग गरेको कुराकानीको सम्पादित अंश :
देशभर सुक्खा बन्दरगाह व्यवस्थापन तथा सञ्चालनको अवस्था कस्तो छ ?
नेपाल इन्टरमोडेल यातायात विकास समितिको उद्देश्य व्यापार सहजीकरण गर्ने र त्यसमार्पmत आयात निर्यातको लागत कम गर्ने हो । यसमा हाम्रो भूमिका पूर्वाधारको व्यवस्थापन गर्ने हो । यसमा भन्सारसहित क्वारेन्टाइन, बैङ्क, सुरक्षा निकायदेखि अध्यागमनसमेतको साझेदारी हुने हो । एकीकृत जाँच चौकी र अध्यागमनलाई नसमेटेको पूर्वाधारलाई हामी सुक्खा बन्दरगाह भन्छौँ । हामीले अहिले वीरगञ्ज र विराटनगरमा एकीकृत जाँच चौकी, वीरगञ्ज, भैरहवा काकडभिट्टा र एउटा सुक्खा बन्दरगाह, विराटनगरमा एकीकृत जाँच चौकी छ, तातोपानीमा सुक्खा बन्दरगाह सञ्चालनमा छ । निर्माणाधीन अवस्थामा रसुवामा चीन सरकारको सहयोगमा सुक्खा बन्दरगाह छ यसको २५ प्रतिशत काम सकिएको छ । भारतको आर्थिक सहयोगमा नेपालगञ्जको एकीकृत जाँच चौकी निर्माणको काम २० प्रतिशत सकिएको छ । काठमाडाँैको चोभार सुुक्खा बन्दरगाह गत असारमै निर्माण सम्पन्न भएको हो । नयाँ निर्माण थाल्ने भनेर अहिले कञ्चनपुरको दोधारा चाँदनीमा काम भइरहेका छ ।
सुक्खा बन्दरगाह सञ्चालन र व्यवस्थापनको अनुभव कस्तो छ ?
सुक्खा बन्दरगाहको सञ्चालन तथा व्यवस्थापनको पाटोमा हामी सफल नै छौँ । पूर्वाधार तथा व्यवस्थापनले आयात निर्यातको समय तथा लागत उल्लेख्य रूपमा घटाएको छ । वीरगञ्ज आईसीपी हामीले राम्रोसँग चलाइरहेका छौँ ।
यस्ता पूर्वाधार सञ्चालनको काम निजी क्षेत्रलाई दिने र समितिले नियमनकारी भूमिका निर्वाह गर्नुपर्ने होइन ?
समिति खास गरी नियमनकारी निकाय नै हो । यस्ता संरचनाको व्यवस्थापन निजी क्षेत्रलाई दिँदा पनि झनै प्रभावकारी बन्छ । किन भने सरकारी संरचना नियामकको भूमिकामा रहने र निजी क्षेत्रले चुस्त र छरितो तरिकाले यो कामको व्यवस्थापन गर्दा राम्रो हुन्छ । त्यसैले हामीले पनि सार्वजनिक निजी साझेदारीको मोडेल अपनाइरहेका छौँ । वीरगञ्ज, विराटनगर र भैरहवाका सुक्खा बन्दरगाह सञ्चालनमा एकदमै राम्रो भइरहेको छ । निजी क्षेत्रको संलग्नताले उनीहरूको व्यवस्थापन क्षमताको उपयोग हुँदा सकारात्मक नतिजा हासिल भइरहेको छ । केही समयपछि वीरगञ्ज आईसीपी सञ्चालनमा पनि निजी क्षेत्र आउँछ । निजी क्षेत्र आउँदा राम्रै हुन्छ ।
बन्दरगाहको पूर्वाधार विकासका गतिविधि दक्षिणी सिमानातिर मात्र केन्द्रित रहे तर उत्तरी नाकातर्पm खासै प्रगति भएको देखिँदैन नि किन होला ?
कार्यसम्पादन सहजताका लागि भौगोलिक सहजता दक्षिणतिर नै छ । भौगोलिक संरचना तथा बाटो घाटोजस्ता पूर्वाधारका कारण उत्तरी नाकातर्पmका काम तुलनात्मक रूपले जटिल छन् । पछिल्ला दुई वर्ष त कोरोना महामारी र त्यसमा चीनले अपनाएको कडा स्वास्थ्य मापदण्डले गर्दा आवश्यक सामान ढुवानी गर्न नै समस्या छ । उत्तरबाट सामान ल्याउन सहज नै भएको छैन । तेस्रो मुलुकबाट ल्याउने सामान आयात गर्नसमेत हामीलाई भारतका विसाखापट्नम र कलकत्ता बन्दरगाह हाम्रा लागि सहज हुन्छन् । यस्तै कारणले पूर्वाधार संरचना विकासमा उत्तरतिर सुस्तता देखिनु स्वाभाविक हो । तर, हामीले तातोपानीमा सुक्खा बन्दरगाह चलाइरहेका छौँ । रसुवागढीमा पनि सुक्खा बन्दरगाह बन्दैछ । कोरलामा सुक्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सकिसकेका छौँ । यसपालि हामी वातावरणीय अध्ययन र डीपीआरको काम गर्दैै छौँ । ओलाङ्चुङगोला, यारी नाकातिर पनि के गर्न सकिन्छ भनेर हेर्दैछौँ ।
अहिलेसम्म काम गर्दै जाँदा समितिले के कस्ता समस्या भोग्नु परेको छ ?
त्यस्तो धेरै समस्या त छैन । निजी क्षेत्रले कुनै स्थानमा पार्किङ क्षमता बढाउनुपर्ने, पूर्वाधार थप्नुपर्ने माग गर्नुहुन्छ । त्यो स्वाभाविक पनि हो । त्यस्तो आवश्यकता महसुस हुँदा हामीले थपेका पनि छौँ । हामीले हार्डवेयरको पार्ट मात्र नभएर सफ्टवेयरका काम, प्राविधिक चुस्तता तथा आधुनिकीकरणका काम गरिरहेका छौँ । अन्य क्षेत्रमा अन्तरनिकाय समस्याको कुरा सुनिन्छ । तर, हाम्रो काममा त्यस्तो समस्या हुँदैन । भन्सार, अध्यागमन सुरक्षा, बैङ्किङ निकाय र हामी सबैसँगै हुन्छौँ । समस्या आएको छैन ।
भन्सार तथा बन्दरगाहका काम प्रविधिमैत्री तथा स्वचालित बनाउनुपर्छ भनेर निजी क्षेत्रले आँैल्याइरहेका हुन्छन् नि ।
प्रविधि तथा उपकरणमा आधारित प्रक्रिया हुँदा समग्रमा लागत कम पर्छ । त्यसैले व्यवसायीले त्यो कुरा उठाउनु स्वाभाविक पनि हो । भन्सार प्रक्रिया आसिकुडा प्रणालीमा अबद्ध छ । हामी पनि प्रविधियुक्त बन्दै छौँ । जस्तो कि अहिले वीरगञ्ज सुक्खा बन्दरगाहमा एउटा रेलमा ९० कन्ेटनरसम्म सामान आउँछ । अहिले त्यो खाली गर्न छदेखि सात घण्टा लाग्छ । यो समय पनि छोट्याउनुपर्छ र सजिलो पनि बनाउनुपर्छ भनेर ग्यान्ट्री क्रेन जडान गर्दैछौँ । यसपछि हामी यो काम डेढ घण्टामै सकिन्छ । हामी सफ्टवेयरमा आधारित प्रक्रियाका लागि पनि काम गरिरहेका छौँ ।
समितिको जिम्मेवारी क्षेत्र अनुरूप नीतिगत तथा कानुनी दायरा भने कमजोर छ । यसलाई अझै स्वायत्त बनाउनुपर्ने आवश्यकता पनि त भयो होला नि अब ?
यो अवश्य छ । समिति गठनादेशका भरमा स्थापना भएको छ । तर, मुलुक भरको आयात निर्यात यही समितिअन्तर्गतकै बन्दरगाह तथा एकीकृत जाँच चौकीमार्फत नै हुने हो । संस्थाको महìव, भूमिका र क्षेत्र ठूलो छ । अब यसलाई प्राधिकरण बनाउन पर्छ भनेर एक तहमा काम भएको छ । यसलाई छुट्टै ऐन चाहिन्छ भनेर ड्राफ्ट पनि भएको छ । गठन आदेशका भरमा भन्दा पनि प्राधिकरण बनिसकेपछि यसलाई काम गर्न पनि सहज हुन्छ । आफ्नै अधिकार क्षेत्र परिभाषित पनि हुन्छ । संस्थालाई पनि बलियो रूपमा काम गर्न सक्छ । हामी पूर्वाधार निर्माण पनि गर्छांै, त्यो प्राविधिक दक्षता हामीसँगै छ । भइरहेका संरचना प्रवद्र्धन गर्ने र तयार भएकालाई व्यवस्थापन तथा सञ्चालन गर्ने क्षमता पनि प्रमाणित भइसकेको छ । समिति प्राधिकरण बन्ने क्षमता बनाइसकेको छ ।
काठमाडौँको चोभारमा पनि सुक्खा बन्दरगाह निर्माण गर्नुभएको छ । सीमा क्षेत्रमा मात्र हुने यस्तो पूर्वाधार देशको मध्यभाग तथा राजधानीमा किन आवश्यक देखियो ?
चोभार सुक्खा बन्दरगाह अलि विशिष्ठ खालको छ । हाम्रा सबै बन्दरगाह नाकामा हुन्छन् । तर, यो राजधानीमा छ । विश्व बैङ्कको सहयोगमा यो बनेको हो । कोरोना महामारीकै समयमा नियमित बन्यो । धेरै मेहनत पनि भयो । मैले नेतृत्व लिँदा करिब २८ महिनामा ४० प्रतिशत मात्र काम भएको थियो । यसलाई विशेष प्राथमिकता दिएर आठ महिनामा सबै बाँकी काम सकियो । यो किन बनाइयो भन्ने प्रश्न छ । काठमाडौँमा त धेरै सामान आउँछ । निर्यातको हिस्सा पनि यहाँबाट ठूलो छ । यो अवस्थामा अब आयात निर्यातकर्ताले आफ्ना आयात निर्यातका काम यहीँबाट गर्न सकिन्छ । विराटनगर, वीरगञ्ज, भैरहवा अब जानुपर्दैन । यसले गर्दा उहाँहरूकै आँखाअगाडि काम हुने भयो । यसो हुँदा काठमाडौँको उपभोक्तालाई तत्काल सामान आपूर्ति गर्न पनि सहज हुन्छ । आयात निर्यातकर्तालाई हामी दोहोरो शुल्क पनि नलाग्ने व्यवस्था गरेका छौँ । यहाँ पाँच सय कन्टेनर, ३५० ट्रक पार्किङ हुन सक्छ । तीनवटा ठूला गोदाम छन् । भण्डारणको समस्या हुँदैन । चाहिएअनुसार हामी थप पनि गर्न सक्छौँ ।
निर्माण सम्पन्न भएको लामो समय भइसके पनि चोभारको सुक्खा बन्दरगाह सञ्चालनमा आउन सकेको छैन नि, किन होला ?
हाम्रोतर्फबाट समस्या छैन । भन्सार विभागको टोली आउन बाँकी छ । विभागले यहाँका लागि सङ्गठन तथा व्यवस्थापन (ओ एन्ड एम) पनि तयार गरिसकेको छ । सीमा नाकाबाट प्रवेश गरेपछि यहाँ आइपुग्दासम्मको सुरक्षा तथा अन्य व्यवस्थापनका लागि भन्सार विभागले कार्यविधि बनाउँदैछ । हाम्रो पक्षका सन्दर्भमा कुनै असहजता छैन । भन्सार क्षेत्र निर्धारण भइसकेको छ । जुन दिन भन्सार आएर यहाँ काम गर्न चाहन्छ त्यही दिनदेखि काम सुरु गर्न सबै तयारीमा हामी छौँ ।