लमजुङ समाचारदाता
लमजुङ, फागुन २४ गते । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९, बस्नेतथोक नारायणस्थान टोलका बासिन्दा सामूहिक तरकारी खेतीमा लागेका छन् । गाउँका ३१ परिवार बस्नेतथोक नारायणस्थान पशुपन्छी तथा जडीबुटी कृषि फार्म निर्माण गरेर व्यावसायिक तरकारी खेती गर्न थालेका हुन् । गत जेठमा संस्था दर्ता गरी खेती थालिएको समूहका अध्यक्ष देवी थापाले बताउनुभयो ।
समूहका सदस्यको ३० रोपनी जग्गामा आलु लगाइएको थियो । आलु खेतीका लागि समूहका सदस्यले पालैपालो गोडमेल र हेरचाह गर्छन् । बाँदर धेरै आउने भएकाले पालोअनुसार कुर्ने व्यवस्थासमेत गरिएको छ ।हाल आलु खन्ने कार्य पनि थालिएको समूहका कोषाध्यक्ष शर्मिला पौडेलले बताउनुभयो । उहाँका अनुसार आलु उत्पादन राम्रो भएको छ ।
खेतीका लागि कृषि ज्ञान केन्द्र लमजुङबाट एक लाख ५० हजार रुपियाँ अनुदान स्वीकृत भएको छ । गाउँपालिकाको कृषि शाखा र कृषि ज्ञान केन्द्रमा सल्लाह लिएर काम थालिएको स्थानीयवासीले बताएका छन् । सबै स्थानीयवासीले एकल रूपमा आलु लगाउँदै आएको र आलु राम्रो भएपछि सबै मिलेर गरिएको बताएका छन् ।सबैको आयआर्जनमा सघाउ पुग्ने भएकाले एकजुट भएको समूहका सचिव पुमाराज राउतले बताउनुभयो । आलुसँगै अन्य तरकारी लगाउने किसानले बताएका छन् । समूहका पुरुषभन्दा महिला बढी छन् ।