हरिप्रसाद कोइराला
उर्लाबारी, फागुन २६ गते । मोरङको सुनवर्षी–१, केचनाका गणेश तुर्छा राई धानखेती छोडेर ड्रागन फ्रुट खेतीतर्फ लाग्नुभएको छ । प्रतिबिघा मुस्किलले ६० मन धान फल्ने तीन बिघा खेतमा उहाँले ड्रागन फ्रुटको व्यावसायिक खेती सुरु गर्नुभएको हो । सुरुमा परीक्षणका रूपमा १०–१५ वटा बिरुवा लगाएर खेती सुरु गर्नुभएका राईले ती बिरुवाले अपेक्षाभन्दा राम्रो उत्पादन दिएपछि धान खेत मासेर ड्रागन फ्रुटको खेती विस्तार गर्नुभएको हो ।
डाँस खोलाको किनारमा रहेको तुर्छाको तीन बिघा खेतमा अहिले ड्रागन फ्रुटका १३ हजार बिरुवाले उत्पादन दिन लागेका छन् । गत वर्षको वैशाखमा बिरुवा लगाउनुभएका तुर्छा राईले भन्नुभयो, “भारतको हैदरावादबाट बिरुवा ल्याएर लगाएको हुँ । ११ महिना भयो, जेठदेखि उत्पादन दिन थाल्छ । ”
राईले वार्षिक ३० लाख रुपियाँ कमाउने सपना देखेर ड्रागन खेती सुरु गर्नुभएको हो । उहाँले एक करोड ५० लाख रुपियाँ लगानी भइसकेको बताउनुभयो । बिरुवामा मात्र ३९ लाख रुपियाँ खर्च भएको र रोपाइँ खर्च, मल, सिँचाइ र आफ्नो मेहनत गर्दा ठूलो लगानी भएको राईले बताउनुभयो ।
पाँच वर्ष दक्षिण अफ्रिकाको मोरक्को र तीन वर्ष सिङ्गापुरमा पसिना बगाउनुभएका ४५ वर्षीय राई ड्रागन फ्रुटले लगातार २० वर्ष उत्पादन दिन्छ भनेपछि यतातिर आकर्षित हुनुभएको हो ।“धान, मकै, गहुँजस्ता बालीबाट राम्रै उत्पादन हुन्थ्यो तर बेलामा मल पाइन्न । बीउ हुँदैन । रासायनिक मल र विषादीबिना सोचेजस्तो उत्पादन लिन सकिन्न । त्यसैले ड्रागन खेतीमा लागेको हुँ,” उहाँले भन्नुभयो । नेपाली बजारमा सेतो ड्रागन फ्रुट प्रतिकिलो पाँच सय रुपियाँमा बिक्री भइरहेको छ । राईले रातो जातको बिरुवा लगाउनुभएको छ । राईका अनुसार सेतोभन्दा रातो ड्रागन फ्रुट प्रतिकिलो एक सय रुपियाँ बढीमा बिक्री हुने गर्छ ।
औषत प्रतिचार बोटबाट एक सिजनमा १२५ किलो उत्पादन लिन सकिने उहाँको भनाइ छ । २० वर्षसम्म लगातार उत्पादन लिन सकिने र मूल्य पनि राम्रो पाइने आशामा धान खेत मासेर ड्रागन लगाउनुभएका राईलाई उत्पादन सुरु भएपछि बजारको अभाव होला कि भन्ने चिन्ता लाग्न थालेको छ । उहाँले भन्नुभयो, “ठूलो लगानी फसिसकेको छ । बिक्री भएन भने फ्रुटलाई प्रशोधन गर्न सकिने सम्भावनाको अध्ययन गरिरहेको छु । ”