logo
२०८१ मंसिर ९ आईतवार



केराउ, सुपारी र मरीच आयात खुला

अर्थ |


केराउ, सुपारी र मरीच आयात खुला


गोरखापत्र समाचारदाता

काठमाडाँैं, फागुन २७ गते । लामो समयदेखि प्रतिबन्ध लगाइएको केराउ, सुपारी र मरीचको आयात खुला गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आव २०७८/७९ का लागि ती वस्तुको आयात अनुमति प्रदान गर्न स्वीकृति दिनेगरी सरकारले निर्णय गरेको जनाएको छ । यससम्बन्धी अनुमति दिँदै बिहीबार राजपत्रमा सूचना प्रकाशन भएको छ ।

औद्योगिक प्रयोजनका लागि सम्बन्धित उद्योग आफैँले केराउ, सुपारी र मरीचको आयात गर्न सक्ने व्यवस्था गरी उद्योग, वाणिज्य, आपूर्ति तथा उपाभोक्ता संरक्षण विभागले अनुमति दिन स्वीकृति प्रदान गरिएको राजपत्रमा उल्लेख छ ।
यसअघि २०७६ चैत २४ गते राजपत्रमा नै सूचना प्रकाशित गरेर ती वस्तुको पैठारीमा बन्देज लगाइएको थियो । पुनः २०७७ चैत ९ गते अर्को सूचना प्रकाशित गरेर केराउमा ८० हजार मेट्रिक टन, सुपारीमा २५ हजार मेट्रिक टन, छोकडा पाँच हजार मेट्रिक टन र नधुल्याएको मरीचमा १५ हजार मेट्रिक टनको परिमाणात्मक बन्देज लगाएको थियो ।

यसअघि विदेशी मुद्रा सञ्चितिमा परेको चापलाई समेत दृष्टिगत गरेर आयातलाई निरुत्साहित गर्न खोजिएको थियो । अहिले फेरि परिमाणात्मक बन्देज लगाउन उद्योग, वाणिज्य, आपूर्ति तथा उपाभोक्ता संरक्षण विभागका प्रवक्ता हरि पङ्गेनीले बताउनुभयो ।
तेस्रो मुलुकबाट पैठारी हुँदै आएका यस्ता वस्तु स्वदेशको आवश्यकता र मागभन्दा पनि गैरकानुनी रूपमा भारतमा निकासी गरेर आयातकर्ताले ठूलो मात्रामा करसमेत छली गरिरहेको आशङ्का गरिँदै आएको छ । यो आशङ्कालाई निमिट्यान्न पार्न कार्यविधि, मापदण्ड बनाएर खुला प्रतिस्पर्धा गरेर परिमाणात्मक बन्देज लगाउने योजना विभागले बनाइरहेको प्रवक्ता पङ्गेनीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?