logo
२०८० चैत्र १६ शुक्रवार



बैतडीमा मल कारखानाका लागि उपयाेगी 'फस्फोरस' काे अन्वेषण गरिँदै

अर्थ |
राष्ट्रिय |


बैतडीमा मल कारखानाका लागि उपयाेगी 'फस्फोरस' काे अन्वेषण गरिँदै


विष्णु पाण्डेय
काठमाडौं,फागुन २७ गते । खानी तथा भूगर्भ विभागले बैतडीमा रहेको फस्फोराइट खनिजको अन्वेषण गर्न कम्पनीलाई सूचीकृत हुन आह्वान गरेको छ । रासायनिक मलका लागि फस्फोरस महत्वपूर्ण मानिन्छ ।
पछिल्लो समय रासायनिक मलको माग बढी रहेको र नेपालमै मल कारखाना स्थापनाको चर्चा चलिरेहको बेला विभागले बैतडीमा रहेको खानीबाट फस्फोरस निकाल्नको लागि कम्पनीलाई सूचीकृत हुन आग्रह गरेको छ । विभागले उक्त क्षेत्रमा दुई वर्ष अघिदेखि अन्वेषण गरिराखेको विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले बताउनुभएको छ । विभागले उक्त क्षेत्रम ड्रिलिङ् गरेर हेर्दा फस्फोरस पेन्टाअक्साइड फेला परेको उहाँ बताउनुहुन्छ ।
त्यसलाई प्रशोधन गरेर शुद्ध फस्फोरस निकाल्न सकिने प्रारम्भिक अध्ययनले देखाएको उहाँको भनाइ छ । नेपालमा खानी अन्वेषण गर्नसक्ने कम्पनी नभएकाले यो अन्वेषणका लागि विदेशी कम्पनीको नै आवश्यकता पर्ने बाँस्कोटाको भनाइ छ । बैतडीको अलावा सुनसरीको बराह,बझाङमा पनि फस्फोरस खानीको सम्भावना छ ।
बैतडीमा फेला परेको फस्फोरस पेन्टाअक्साइड डोलोमाइटसँग कणकणमा देखिएको छ । जुन १० वर्ग किमि क्षेत्रफलमा फैलिएको छ । ड्रिलिङमा फस्फोरस पेन्टोअक्साडको मात्रा चार प्रतिशत देखिएको छ । डोलोमाइट पनि मलकै रुपमा प्रयोग हुन्छ । विभागले गरेको अध्ययनका क्रममा फस्फोरसको कच्चा पदार्थको मात्रा चार प्रतिशत देखिएको छ । यसकारण पनि यस क्षेत्रबाट फस्फोरस निकालेर मल कारखाना स्थापना गर्न सकिने प्रतिवेदन तयार भएको छ उहाँले भन्नुभयो ।
निजी कम्पनीलाई उक्त क्षेत्रको अन्वेषण गर्न दिँदा चार वर्षसम्ममा उक्त क्षेत्रबाट प्रशोधन गरेर फस्फोरस निकाल्न सकिने सम्भावना रहेको बाँस्कोटाले बताउनुभयो । माटो विज्ञ श्रीप्रसाद विष्टका अनुसार अहिले नेपालमा फस्फोरसको माग पनि बढ्दै गइरहेकाले यसको अन्वेषण हुनु राम्रो कुरा भएको उहाँको भनाइ छ । माटोमा फस्फोरसको मात्रा कम हुँदै गइरहेको र यूरियाका साथै फस्फोरसको पनि मात्रा सन्तुलन गर्नुपर्ने भएकाले नेपालमै फस्फोरको उत्पादन हुनु सुखद रहेको विष्टले बताउनुभयो । ‘नेपालको माटोमा फस्फोरसको मात्रा कम हुँदै गइरहेको छ । यसरी कम हुँदै जाँदा फस्फोरसको माग पनि बढ्ने देखिन्छ’ उहाँले भन्नुभयो ‘यो अन्वेषणको काम ४० वर्ष अघि नै भएको भए अझ राम्रो हुने थियो । ’
बिरुवा राम्रोसँग सप्रेको देखेर किसानले युरिया मलको प्रयोग बढी गर्ने गरेको भए पनि फस्फोरसले जरा बलियो बनाउने र फल राम्रोसँग लाग्ने भएकाले यी दुवै किसिमका मलको सन्तुलन गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?