logo
२०८१ मंसिर ९ आईतवार



एमसीसीकाे पूर्वाधार निर्माणमा सहभागी हुन व्यवसायीलाई प्रमकाे आह्वान

अर्थ |


एमसीसीकाे पूर्वाधार निर्माणमा सहभागी हुन व्यवसायीलाई प्रमकाे आह्वान


काठमाडौं, फागुन २७ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयाेग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाअन्तर्गत हुने पूर्वधार निर्माणको ग्लोबल टेण्डरमा सहभागी हुन नेपालका निर्माण व्यवसायीलाई आह्वान गर्नुभएको छ ।

शुक्रबार नेपाल निर्माण व्यवसायी सङ्घको २३ औँ साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले अमेरिकी कानुन अनुसार अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराउनुपर्ने भएकोले यसमा भाग लिन नेपालका निर्माण व्यवसायीलाई आग्रह गर्नुभएको हो ।

‘एमसीसीमा ग्लोबल बिडिङ हुन्छ । नेपालको ठेकेदारले पनि प्रतिस्पर्धा गर्नुहाेस् । सफल हुनुस् । म सबैभन्दा बढी खुसी हुनेछु ।,’ उहाँले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय बिडिङ हुन्छ । यसमा संसारका जो पनि आउन सक्छन् । चीन र भारतका आउन सक्छन् । नेपालका तपाईहरु पनि सहभागी हुनुहाेस् ।’

त्यस्तै, उहाँले निर्माण व्यवसायीलाई सहज बनाउन सार्वजनिक खरिद नियमावली संशोधन गरेको समेत बताउनुभयो । उहाँका अनुसार सार्वजनिक खरिद व्यवसायीलाई चुस्त र पारदर्शी र प्रतिस्पर्धी बनाउन सरकार सदैव तत्पर छ । निर्माण व्यवसायीको व्यवस्थित विकासका लागि सरकार प्रतिबद्ध छ । भौतिक पूर्वाधारको विकास बिना मुलुकको समग्र विकास सम्भव छैन । भौतिक पूर्वाधार विकास निर्माण व्यवसायीबाट मात्र सम्भव रहेको उहाँको भनाइ छ ।

निर्माण व्यवसायलाई गुणस्तरीय बनाउनुपर्छ

देउवाले राष्ट्र निर्माणको मेरुदण्डको रुपमा रहेको निर्माण उद्योगलाई स्वच्छ, व्यावसायिक र गुणस्तरीय बनाइनुपर्ने खाँचो औँल्याउनुभएको छ।

‘भौतिक पूर्वाधारको विकास बिना मुलुकको समग्र विकास सम्भव छैन। त्यो निर्माण व्यवसायीबाट मात्रै सम्भव छ’, देउवाले भन्नुभयो, ‘भौतिक निर्माणको उद्योगलाई अझ व्यावसायिक र प्रतिस्पर्धी बनाउनुस्, यसका लागि सहकार्य गर्न सरकार तत्पर छ।’

प्रधानमन्त्री देउवाले निर्माण व्यवसाय मुलुकमा पूर्वाधार निर्माण तथा रोजगारी सिर्जना गर्ने अग्रणी व्यवसाय भएकाले यसमा आबद्ध व्यवसायी आफ्नो व्यवसायप्रति सदैव गम्भीर र जिम्मेवार हुन आवश्यक छ भन्नुभयो।

उहाँले निर्माण व्यवसायमा स्वच्छ प्रतिस्पर्धालाई प्रवद्र्धन गर्दै मुलुकमा लागत किफायती र गुणस्तरीय निर्माणलाई सुनिश्चित गर्न सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।

मुलुकमा कृषिपछि सबैभन्दा बढी रोजगारीको अवसर सिर्जना गर्ने निर्माण क्षेत्रको स्वच्छ र प्रतिस्पर्धी विकासबाट नै मुलुकको द्रुततर आर्थिक विकास सम्भवन हुने प्रधानमन्त्रीको भनाइ छ।

एमसीसीबाट फाइदा लिन सुझाव

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माण व्यवसायीको मागबमोजिम नै निर्माण उद्योगलाई समृद्ध बनाउन सार्वजनिक खरिद नियमावलीको एघारौँ संशोधन मन्त्रिपरिषद्ले पारित गरेको बताउनुभयो।

मुलुकको विकासमा निर्माण व्यवसायीले गरेको योगदानको प्रशंसा गर्दै उहाँले भन्नुभयो, ‘गुणस्तरीय निर्माण उद्योग निर्माणका लागि व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्न सरकार तयार छ। समस्याको नीतिगत प्रक्रियाबाट समाधान गरिन्छ।’

प्रधानमन्त्री देउवाले हालै प्रतिनिधिसभाबाट पारित भएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताबाट फाइदा लिन निर्माण व्यवसायी महासङ्घलगायत निजी क्षेत्रका सङ्घ संस्थालाई सुझाव दिनुभयो।

‘एमसिसी परियोजनाअन्तर्गत अन्तर्राष्ट्रिय प्रतिस्पर्धा ‘ग्लोबल टेण्डर’ हुन्छ, नेपालका व्यवसायीले पनि प्रतिस्पर्धामा सहभागी हुनुहोस्। हामी सबैभन्दा बढी खुसी हुन्छौँ’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘ग्लोबल टेण्डर हुँदा जुनसुकै मुलुकका निर्माण व्यवसायीले प्रतिस्पर्धामा सहभागी हुन पाउने छन्। चीन, भारतलगायत अन्य मुलुकले पनि सहभागी हुन सक्नेछन्।’

प्रधानमन्त्री देउवाले स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न पनि महासङ्घलाई सुझाव दिनुभयो। रासस 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?