दीपकप्रसाद गौतम
वीरगञ्ज, फागुन २८ गते । पहिलो पटक वीरगञ्जमा महाधिवेशन गरेको नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं महाधिवेशन निर्विरोध नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । उमेशप्रसाद सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै यही फागुन २६ गतेदेखि वीरगञ्जमा जारी नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं महाधिवेशन शनिबार सम्पन्न भएको हो ।
यसअघि वरिष्ठ उपाध्यक्ष रहनुभएका सिंहले महासंघको संस्थापक सदस्यहुँदै विभिन्न जिम्मेवारीका साथै कार्यबाहक अध्यक्षको समेत जिम्मेवारी सम्हाली सक्नुभएको निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरीले बताउनुभयो । त्यस्तैगरी, वरिष्ठ उपाध्यक्षमा सूर्यबहादुर कँडेल तथा उपाध्यक्षहरुमा लघु उद्यमतर्फ पूर्णबहादुर भण्डारी, घरेलु उद्योगतर्फ प्रकाश रावल, साना उद्योगतर्फ चन्दनकृष्ण श्रेष्ठ, अन्तर्राष्ट्रिय सम्बन्ध मुकेश उपाध्याय, महिलातर्फ शोभा गुरुङ, वस्तुगततर्फ मोहन कटुवाल, एशोसिएटतर्फ शान्ता बास्कोटा कोइराला, सहकारीतर्फ सत्यनारायण प्रजापति, कृषितर्फ हरिहर थापा, पर्यटनतर्फ राजेन्द्रमान श्रेष्ठ निर्विराेध निर्वाचित हुनुभएको हो ।
त्यस्तैगरी, महासंघको महासचिवमा डम्बरप्रसाद रेग्मी, कोषाध्यक्षमा अच्यूत पाण्डे, सचिवहरुमा दीपकबहादुर बुढा, सहकारीतर्फ भेषराज पाण्डे, वस्तुगततर्फ महेन्द्रबहादुर चित्रकार, एशोसिएटतर्फ रुद्रप्रसाद न्यौपाने, सहकोषाध्यक्षमा ज्ञानबहादुर खडकासहित ८० जना सदस्यहरु निर्वाचित हुनुभएको छ ।
यसैगरी महासंघकै केन्द्रीय महिला उद्यमी समितिमा रोशनी उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रीता अवाल, उपाध्यक्ष उद्यम व्यवसायतर्फ कृष्णाकुमारी पाठक, उपाध्यक्ष संगठनतर्फ तारा आचार्य, महासचिवमा डा. सोनी महतो, कोषाध्यक्षमा मीना तामाङ्ग, सचिवमा दीपा शाक्य र १४ जना सदस्य रहनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष सिंहले महासंघको गरिमालाई उच्च बनाउँदै लघु, घरेलु तथा साना उद्योगीहरुको हक हितमा काम गर्ने बताउनुभयो ।