गोरखापत्र समाचारदाता
ललितपुर, फागुन २९ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतीय उपकरण प्रयोगले अर्थतन्त्रमा महत्त्वपूर्ण सहयोग पुग्ने बताउनुभएको छ । विदेशी मुद्राको सञ्चितिलाई सन्तुलित राख्न र जलविद्युत्को भरपुर उपभोग गरेर देशको आर्थिक अवस्था उकास्न उहाँले सर्वसाधारणलाई आग्रह गर्नुभयो । ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा उहाँले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेकाले विद्युतीय सवारीसाधन तथा चुलो प्रयोग गर्न आग्रह गर्नुभएको छ ।
ग्यासको सट्टा इन्डक्सन चुलो प्रयोग गर्ने नीतिअनुसार आफूले विद्युत्को महसुल घटाएको चर्चा गर्दै मन्त्री भुसालले भन्नुभयो, “विद्युतीय चुल्हो प्रयोग गरौँ । त्यो ग्यासभन्दा सस्तो छ ।” हाल एक सिलिन्डर ग्यासको मूल्य एक हजार ५७५, पेट्रोल प्रतिलिटर १५० र डिजल प्रतिलिटर १३३ रुपियाँ छ । मन्त्री भुसालले आगामी दिनमा तिनको मूल्य निरन्तर बढ्ने भएकाले पनि विद्युतीय साधन प्रयोग गरेर जीवनलाई सहज बनाउनुपर्नेमा उहाँको जोड थियो ।