चन्द्र पन्दाक
ताप्लेजुङ, चैत १ गते । ताप्लेजुङमा ब्रोइलर कुखुराको मासुको मूल्यवृद्धि भएको छ । सदरमुकाम फुङ्लिङ बजारमा केही सातायता ब्रोइलर कुखुराको मासुको मूल्य प्रतिकिलोग्राम एक सय रुपियाँले वृद्धि भएको छ ।
फुङ्लिङ बजारमा ब्रोइलरको मासु प्रतिकिलोग्राम ३८० रुपियाँमा पाइने गरिएकोमा अहिले ४८० रुपियाँ पु¥याइएको छ । सहज रूपमा ब्रोइलर कुखुरा उपलब्ध हुन छाडेकाले मासुको मूल्यवृद्धि हुँदै गएको स्थानीय व्यवसायी बताउँछन् । जिल्लाभित्र ब्रोइलर कुखुरा पाउन छोडेपछि अहिले इलाम र झापादेखि आयात गरेर मासु बिक्री गर्दै आएको व्यवसायीको भनाइ छ ।
फुङ्लिङ बजारको पराजुली चौकस्थित पौडेल मिट सप्लायर्सका प्रोपाइटर चन्द्र पौडेलले इलामबाट ब्रोइलर कुखुरा ल्याएर मासु बिक्री गर्दै आएको बताउनुभयो । इलाममा जिउँदो कुखुरा प्रतिकिलोग्राम ३२० रुपियाँले खरिद गरेर यहाँ मासु ४८० रुपियाँमा बिक्री गर्ने गरेको पौडेलले बताउनुभयो । हाल वृद्धि भएको मूल्यमा पनि उपभोक्ताको मागअनुसार ब्रोइलरको मासु उपलब्ध गराउन नसकेको उहाँले बताउनुभयो ।
फुङ्लिङ बजारकै व्यवसायी तारिबुङ फ्रेस हाउसका प्रोपाइटर नरेन्द्र बस्नेतले पनि ब्रोइलर कुखुरा पाउन छोडिएकोले मासुको मूल्य महँगाे भएको बताउनुभयो । झापादेखि कुखुरा आयात गर्दा नै महँगाे पर्ने भएकाले सोहीअनुसार यहाँ मासु महँगाे मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता भएको बस्नेतले बताउनुभयो । इलाम र झापामा पनि मागअनुसार कुखुरा पाउनै मुस्किल पर्ने गरेको उहाँको भनाइ छ ।
पराजुली चौकका अर्का व्यवसायी माउण्टेन मिट सप्लायर्सका प्रोपाइटर नेत्र न्यौपानेले जिल्लामा ब्रोइलर कुखुरा नपाएपछि मासु बिक्री गर्न छाडेको बताउनुभयो । बाहिरबाट कुखुरा आयात गर्नुपर्दा महँगाे पर्ने भएकाले बोइलर बिक्री गर्न छोडेको र अहिले लोकल (स्थानीय) कुखुराको मासु मात्र बिक्री गर्दै आएको उहाँले बताउनुभयो । लोकल कुखुराको मासु प्रतिकिलोग्राम सात सय रुपियाँले बिक्री गर्ने गरिएको छ ।
लेकाली फ्रेस हाउसका प्रोपाइटर कुमार शेर्पाले पनि कुखुरा पाउन छोडेपछि मासु बिक्री गर्न छोडेको बताउनुभयो । यसरी फुङ्लिङ बजारका अधिकांश फ्रेस हाउस तथा बोइलर मासु बिक्री केन्द्र हिजोआज बन्द भएका छन् । सिमित फ्रेस हाउसहरु सञ्चालनमा रहे पनि उनीहरुले मासु महँगाेमा बिक्री गर्दै आएका छन् । सहज रुपमा बोइलर कुखुरा नपाएकै कारण मासुको मूल्यवृद्धि भएको व्यवसायीले बताउने गरेका छन् । मूल्य महँगाे भए पनि व्यवसायीले उपभोक्ताको मागअनुसार ब्रोइलरको मासु उपलब्ध गराउन सकिरहेका छैनन् ।