नारद कोहार
तौलिहवा, चैत १ गते । कपिलवस्तुको जितपुरमा हुन लागेको १२ औं कपिलवस्तु महोत्सवको उद्घाटन गृहमन्त्री बालकृष्ण खाँणले गर्नुहुने भएको छ ।
महोत्सवको तयारीको विषयमा कपिलवस्तु उद्योग वाणिज्य संघले आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताइएको छ ।
१२ औं महोत्सव यही चैत्र ३ देखि १३ गतेसम्म कपिलवस्तुको बाणगंगा नगरपालिका बुद्ध रगंशालामा हुँदै छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको महोत्सवका निर्देशक छवि रेश्मी मगरले बताउनुभयो ।
महोत्सवमा करिब दुई लाख दर्शकले अवलोकन गर्ने र पाँच करोडको कारोबार हुने लक्ष्य रहेको कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले बताउनुभयो । महोत्सवमा घरेलु उत्पादनका सामग्रीलाई बढावा दिने, विभिन्न पर्यटकीय स्थालको प्रचारप्रसार, कृषि जन्य वस्तुको प्रदर्शनी गरिने अध्यक्ष घिमिरेले बताउनुभयो ।
यसपटकको महोत्सवलाई नौलोपन दिनको लागि स्वागतद्वारको रुपमा युएईस्थित संसारकै अग्लो बुर्ज खलिफा टावरको नमुना बनाइएको छ । टावरले दुबईमा रहेको बुर्ज खलिफाको झल्को दिने छ । बुर्ज खलिफा ९२ फिट अग्लो भए पनि यहाँ बन्न लागेको टावरको उचाई ५२ फिट रहेको उहाँले बताउनुभयो ।
महोत्सव धार्मिक हिसाबले समेत महत्वपूर्ण रहेको छ । महोत्सव स्थलमा शिव, बुद्ध मूर्तिका साथै गुम्बाको दर्शन महत्वपूर्ण सेल्फी जोन लगायतका क्षेत्रको समेत अवलोकन र मनोरञ्जन गर्न पाइने मेला आयोजकले जानकारी दिएको छ ।