logo
२०८१ मंसिर ९ आईतवार



सब–स्टेसन उद्घाटन : विद्युत् खपत बढाउन आग्रह

अर्थ |


सब–स्टेसन उद्घाटन :  विद्युत् खपत बढाउन आग्रह


गोरखापत्र समाचारदाता

सर्लाही, चैत २ गते । सर्लाहीको नवलपुरमा बनेकोे १३२/३३ केभी सब–स्टेसनको उद्घाटन गरिएको छ । सो सब–स्टेसन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गर्नुभएको हो । सर्लाहीको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय बनाउने र आगामी दिनमा खुल्ने नयाँ उद्योगलाई विद्युत् उपलब्ध गराउन सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा यो सब–स्टेसन बनाइएको हो ।

सब–स्टेसन उद्घाटन गर्दै मन्त्री भुसालले आमनेपाली जनताले उज्यालोका लागि मात्र नभएर खाना पकाउन, सिँचाइ गर्न, उद्योग कलकारखाना चलाउनका लागि प्रयोग गरी विद्युत् खपत बढाउन आग्रह गर्नुभयो ।
तराई तथा मधेस क्षेत्रमा सिँचाइमा विद्युत् खपतको प्रचुर सम्भावना देखेरै सरकारले सिँचाइको विद्युत् महसुल घटाएको उल्लेख गर्दै मन्त्री भुसालले सिँचाइका लागि पेट्रोलियम पदार्थबाट चल्ले उपकरण विस्थापित गर्न आग्रह गर्नुभयो । “अहिले हामी वार्षिक दुई खर्बभन्दा बढीको खाद्यान्न आयात गरिरहेका छौँ, विद्युत्मार्फत सिँचाइ गरी उत्पादन वृद्धि गरौँ, बाँझो खेत नराखौँ,” उहाँले भन्नुभयो, “ऊर्जा प्रयोग गरी उद्योग खोलौँ, कृषि गरौँ र मुलुकभित्रै रोजगारी सिर्जना गर्दै अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनतर्फ लागौँ । ”

ऊर्जा सचिव देवेन्द्र कार्कीले सरकारले महसुल घटाएकाले विद्युत् चोरी गरी सिँचाइ गर्नुपर्ने अवस्था नरहेको उल्लेख गर्दै चोरी नियन्त्रणमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मधेस प्रदेशको विद्युत् आपूर्ति सुधार गर्न अहिले सबैभन्दा बढी लगानी भइरहेको उल्लेख गर्दै प्राधिकरणले आफ्नो आम्दानी घटाएर भए पनि सिँचाइ, औद्योगिक, खानेपानीलगायत आमघरायसी ग्राहकलाई महसुलमा सहुलियत दिएको बताउनुभयो । विद्युतीकरणका लागि बजेट अभाव नहुने स्पष्ट पार्दै उहाँले सबैलाई विद्युत् उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । मधेस प्रदेशमा विद्युत् चुहावट बढी नै हुने गरेकाले चुहावट नियन्त्रणमा सहयोग गरिदिन सबैलाई आग्रह गर्नुभयो ।

सब–स्टेसनमा विद्युत् आपूर्ति सुरु भएपछि सर्लाहीको विद्युत् आपूर्ति विश्वसनीय र प्राविधिक चुहावट घटेको छ । यसअघि सर्लाहीमा ढल्केबर र चन्द्रनिगाहपुर सब–स्टेसनबाट ३३ केभी लाइनमार्फत विद्युत् आपूर्ति भइरहेको थियो । ३३ केभी लाइन धेरै लामो हुँदा प्राविधिक चुहावट थियो भने विद्युत् आपूर्तिसमेत अवरोध हुँदै आएको थियो । नवलपुर सब–स्टेसनबाट सिधै विद्युत् आपूर्ति हुन थालेपछि लाइन छोटो हुँदा चुहावट घट्छ, विद्युत् आपूर्ति पनि विश्वसनीय र गुणस्तरीय बनेको छ । सर्लाहीमा खुल्ने उद्योगलाई पर्याप्त विद्युत् दिन सकिनेछ । सब–स्टेसनको मुख्य निर्माण आव २०७५/०७६ मा सुरु गरिएको थियो । कार्यक्रममा सब–स्टेसन आयोजनाका कर्मचारी र ठेकेदार कम्पनीलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?