logo
२०८० चैत्र १६ शुक्रवार



चार हजार रोपनीमा ‘मल्चिङ प्लाष्टिक’मा अकबरे खेती, उत्पादन बढ्यो

अर्थ |
प्रदेश |


चार हजार रोपनीमा ‘मल्चिङ प्लाष्टिक’मा अकबरे खेती, उत्पादन बढ्यो
पाँचथर फाल्गुनन्द गाउँपालिका–४, टाँडगाउँका किसानद्वारा बारीमा प्रयोग गरिएको ‘मल्चिङ प्लाष्टिक’ प्रविधि ।


नारायण तुम्बापाे
फिदिम, चैत ३ गते । पाँचथरको फाल्गुनन्द गाउँपालिका–४, चिलिङ्देनका किसानले ‘मल्चिङ प्लाष्टिक’मा अकबरे खोर्सानीको खेती गर्ने गरेका छन् । परम्परागत जटिल खेती प्रणालीभन्दा धेरै सहज हुने थाहा पाएपछि यो आधुनिक प्रविधिको प्रयोगतर्फ किसानको आकर्षण पनि बढ्दो छ ।
अकबरेको पकेट क्षेत्र चिलिङ्देनका चार सय किसानले विगत तीन वर्षदेखि ‘मल्चिङ प्लाष्टिक’मा खोर्सानी रोप्ने गरेका हुन् । चिलिङ्देनको झण्डै चार हजार रोपनी जमिनमा ‘मल्चिङ प्लाष्टिक’मा अकबरेको खेती भइरहेको हो । यसरी खेती गर्दा उत्पादनमा बिस प्रतिशतले वृद्धि हुनुका साथै मलजल, गोडमेलमा कम लागत लाग्ने किसान निसा नेम्बाङले बताउनुभयो । ‘मल्चिङ प्लाष्टिक’मा रोपिएको खोर्सानीले एक महिना छिटो उत्पादन दिन थाल्ने पनि बताइन्छ । ड्याङ बनाइएको माटोलाई प्लाष्टिकले छोप्ने प्रक्रियालाई ‘मल्चिङ प्लाष्टिक’ भनिने कृषि ज्ञानकेन्द्र प्रमुख सागर विष्टले बताउनुभयो । यसले जमिनको पानीलाई वाष्पीकरण हुन नदिएर माटोलाई लामो समयसम्म चिस्यान बनाइराख्न सहयोग गर्छ । माटोमा मिलाइएको मलको ग्यास उडेर जान दिदैन । जसका कारण बढी मलजलको आवश्यकता पर्दैन । जाँडो याममा माटोलाई न्यानो बनाइदिएर उचित तापक्रम प्रदान गरिदिनुका साथै बर्खायाममा आवश्यकता भन्दा बढी पानी पस्न पनि दिदैन । मल खाइदिने झार उम्रिन नदिनाले गोडमेलको जरुरत पर्दैन । यो बहुउपयोगी वैज्ञानिक प्रविधिबारे टेलिभिजनको कृषि कार्यक्रममा देखेपछि सिकेको अगुवा किसान तारावीर नेम्बाङले बताउनुभयो । साउन भदौमा उत्पादन लिनेगरी चिलिङ्देनका किसानले फागुन भित्रमा अकबरे रोप्ने गरेका छन् । रोप्ने समयमा चिलिङ्देन क्षेत्रमा जाडो रहने हुनाले माटोलाई ड्याङ बनाएर दुई हप्तासम्म ‘मल्चिङ प्लाष्टिक’मा तताइन्छ । त्यसपछि प्लाष्टिक प्वाल पारेर किसानले अकबरेको बिरुवा रोप्ने गरेका छन् । अहिले चिलिङ्देनका किसान ‘मल्चिङ प्लाष्टिक’मा अकबरे रोपी सकेर सिंचाइ गर्नमा व्यस्त छन् । अकबरे रोपण गर्ने समयमा चिलिङ्देन क्षेत्रका खेतबारी जस्तापाता बिछ्याए जस्तै देखिइने ‘मल्चिङ प्लाष्टिक’का कारण रमितलाग्दो देखिन्छ । यसले कृषि पर्यटन प्रवर्धनमा पनि सहयोग गर्न सक्ने देखिन्छ ।
एक देखि ३५ रोपनीसम्ममा चिलिङ्देनका किसानले मुख्य आम्दानीको स्रोतको रुपमा अकबरे खेती गर्ने गरेका छन् । यहाँका किसानले प्रति रोपनी एक लाख रुपियाँसम्म अकबरे बेचेर फाइदा लिन्छन् । अकबरेले थोरै जमिनमा रोप्दा पनि अरु बालीभन्दा अधिकतम फाइदा दिने बताइन्छ । त्यसैले पन्ध्र वर्षदेखि यही खेतीमा लागिरहेको किसान कहरसिं नेम्बाङले बताउनुभयो । स्थानीय सिरीजङ्गा साना किसान कृषि सहकारी संस्थाले अकबरे खेती प्रवर्धनमा सहयोग गर्नुका साथै बजारीकरण पनि गरिदिन्छ । जसका कारण चिलिङ्देनमा अधिक उत्पादन हुने अकबरेले बजार अभाव झेल्नुपरेको छैन । सहकारीले औसत दुई सय रुपियाँ प्रतिकिलोमा किनेर किसानका घरबाटै खोर्सानी उठाइदिन्छ । अकबरे खोर्सानी मात्रै बेचेर चिलिङ्देनका किसानले वार्षिक दुई करोड रुपियाँसम्म थाप्ने गरेका छन् । यहाँको अकबरे खेती प्रवर्धनका लागि कृषि ज्ञान केन्द्र पाँचथरबाट बाइस लाख रुपियाँ अनुदान दिइएको ज्ञानकेन्द्र प्रमुख सागर विष्टले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?