मनिषा केसी
रुकुम (पश्चिम), चैत ७ गते । जिल्लाको मुसीकोट नगरपालिका वडा नम्बर ३ धैरेनीचौरमा रहेको विद्युत सव स्टेशनको उद्घाटन गरिएको छ । सोमबार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुषाल र अर्थमन्त्री जनार्दन शर्माले संयुक्त रुपमा ३३ केभी क्षमताको उक्त सव स्टेशनको औपचारिक रुपमा उद्घाटन गर्नुभएको हो ।
सब स्टेशन यसअघि नै संचालनमा आए पनि सोमबार एक औपचारिक समारोहका बीच उदघाटन गरिएको हो । निर्माण कार्य सम्पन्न भएपछि गत फागुन २ गतेदेखि उक्त सब स्टेशनबाट विद्युत् सेवा प्रवाह सुरु भएको थियो । चारवर्ष अघि सव स्टेशन निर्माणको काम सुरु गरिएकोमा कोभिड लगायतका कारणले तोकिएको समयभन्दा केही ढिला गरी निर्माण सकिएको थियो ।
यसअघि जिल्लामा सल्यानको शितलपाटी सव स्टेशनबाट विद्युत आपुर्ति भइरहेको थियो । जहाँ ११ केभीको प्रशारण लाइन झण्डै ८० किलोमिटर दुरी पार गरेर जिल्लामा ल्याउँदा त्यतिबेलाको बिद्युत सेवा भरपर्दो थिएन् । जिल्ला मै सव स्टेशन निर्माण भई संचालनमा आएपछि भने भोल्टेजको समस्या र अनियमित हुने समस्यामा कमि आएको नेपाल विद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्रले जनाएको छ । हाल जिल्लामा नेपाल बिद्युत प्राधिकरणका १५ हजार उपभोक्ताहरु छन् । सबै स्थानीय तहमा केन्द्रीय प्रशारण लाईनले छोएको छ ।
जिल्लाका ७३ वडा मध्यमा ५२ वटा वडामा बिद्युत पुगेको नेपाल विद्युत प्राधिकरणका उप कार्यकारी निर्देशक मनोज सिलवालले कार्यक्रममा जानकारी गराउनुभएको थियो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको अध्यक्षतामा भएको कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुषालको प्रमुख र अर्थमन्त्री जनार्दन शर्माको विशेष आतिथ्यता रहेको थियो ।