logo
२०८१ मंसिर ९ आईतवार



मुद्दती निक्षेपमा दुई अर्ब लगानी

अर्थ |


मुद्दती निक्षेपमा दुई अर्ब लगानी


गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत ११ गते । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा झन्डै दुई अर्ब रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कले आफ्नो विभिन्न कोषमा रहेको सो रकम वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।

राष्ट्र बैङ्कले वाणिज्य बैङ्कहरूको मुद्दती निक्षेपमा एक अर्ब ५४ करोड ६२ लाख रुपियाँ, विकास बैङ्कहरूको मुद्दती निक्षेपमा २८ करोड ९८ लाख र फाइनान्स कम्पनीहरूको मुद्दती निक्षेपमा नौ करोड ६६ लाख गरी कुल एक अर्ब ९३ करोड २६ लाख रुपियाँ मुद्दती निक्षेपमा राख्न लागेको हो ।

आगामी २०७९ वैशाख २ देखि २०८० वैशाख १ गतेसम्म ३६५ दिन अवधिका लागि राख्न लागेको मुद्दती निक्षेप लिन चाहने बैङ्क तथा वित्तीय संस्थाहरूले चैत १७ गतेसम्ममा ब्याजदर प्रस्ताव पेस गरिसक्नुपर्नेछ ।
यसरी राखिएको मुद्दती निक्षेपको ब्याज बैङ्क तथा वित्तीय संस्थाले मासिक रूपमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैङ्कले जारी गरेको सूचनामा उल्लेख छ । निक्षेप लिनका लागि बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुनुपर्ने, राष्ट्र बैङ्कले तोकेको न्यूनतम पुँजी कोष कायम हुनुपर्ने सूचनामा उल्लेख छ ।

त्यसैगरी निक्षेप लिनका लागि निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने, कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात बैङ्कले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको हुनुपर्ने, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको हुनुपर्ने, समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्नेजस्ता सर्त राष्ट्र बैङ्कले अगाडि सारेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?