सिन्धुपाल्चोक, चैत ११ गते । तातोपानी भन्सार नाकाबाट बिहीबार थप २३२ मेट्रिक टन रासायनिक युरिया मल नेपाल भित्रिएको छ । सोही नाका भएर बुधबार पनि २३२ मेट्रिक टन युरिया मल भित्रिएको थियो ।
बुधबार भित्रिएका मल प्रयोगशाला परीक्षण गरी राजधानी पठाइएको तातोपानी सुक्खा बन्दरगाह भन्सार प्रमुख नारद गौतमले जानकारी दिनुभयो ।
रासायनिक मलको चर्को अभाव झेल्दै आएका किसानलाई यसले राहत दिने बताइएको छ । सिल्क मार्केटले चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी पाएको थियो ।
बोलपत्र पाएपछि छ महिनाअघि सो कम्पनीले पहिलो खेपमा एक हजार ५०० मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ । अहिले बाँकी मल ल्याउन थालिएको कम्पनीले जनाएको छ ।
सुनकोसीका सबै घरमा खानेपानी
सुनकोसी गाउँपालिका–१ ठोकर्पाका सबै घरधुरीमा मिटर जडित धारामार्फत नियमित खानेपानी आपूर्ति गरिएको छ ।
बिहीबार एक कार्यक्रमबीच पूर्वसूचना तथा सञ्चारमन्त्री एवं नेपाली कांग्रेका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले मिटर जडित धारामार्फत नियमित खानेपानी आपूर्ति उद्घाटन गर्नुभएको थियो । उद्घाटनकै क्रममा नता बस्नेतले मिटर जडित धारामार्फत नियमित खानेपानी आपूर्ति गर्ने नेपालकै पहिलो वडा घोषणा गर्नुभयो ।
कार्यक्रममा सुनकोसी गाउँपालिका अध्यक्ष श्रवणकुमार जिसीले सुनकोसीको वडा नं १ बाट सुरु भएको यो अभियान अब गाउँपालिकाका सबै वडामा सञ्चालन हुने बताउनुभयो । वडाका सम्पूर्ण घरधुरी तथा सङ्घ संस्थासहित ७८६ धुरीमा पानी उपलब्ध गराउने कार्य सम्पन्न भएको वडाध्यक्ष नेत्रबहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार वडाका सबै घरधुरीमा मिटर जडित धारामार्फत नियमित खानेपानी आपूर्ति गर्ने यो वडा नेपालमै पहिलो हो ।
अत्यन्त सुक्खा ग्रस्त क्षेत्रको रुपमा विगत लामो समयदेखि यहाँका स्थानीयले खानेपानीको चरम अभाव भोगिरहेको यो वडामा अब करिब छ महिनाको सुक्खा समयमा खानेपानी मागको करिब ४५ प्रतिशत डिपबोरिङ, ३५ प्रतिशत लिफ्टिङ र बाँकी २० प्रतिशत अन्य प्राकृतिक मुहानबाट खानेपानीको अपूर्ति भइरहेको वडाध्यक्ष कार्कीले बताउनुभयो । वर्षायामको समयमा करिब शतप्रतिशत नै प्राकृतिक मुहानको पानीलाई शुद्धीकरण गरी खानेपानी ‘सिस्टम’मा जोडेर खानेपानीको आपूर्ति गरिएको छ ।