गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत १२ गते । बीमा समितिले बीमा कम्पनीको चुक्ता पुँजी बढाउने निर्णय गरेको छ । समितिले बीमा कम्पनीको पुँजी १५० प्रतिशतले बढाउने निर्णय गरेको हो ।समितिको सञ्चालक समितिको बैठकले बीमा कम्पनीको चुक्ता पुँजी वृद्धि गर्दै जीवन बीमा कम्पनीको पाँच अर्ब रुपियाँ र निर्जीवन बीमा कम्पनीका लागि दुई अर्ब ५० करोड रुपियाँ पु-याउने निर्णय गरेको हो ।
अहिले जीवन बीमा कम्पनीको चुक्ता पुँजी दुई अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपियाँ रहेको छ ।बीमा कम्पनीले २०७९ साल असार मसान्तसम्म तोकिएको पुँजी पु-याउने गरी पुँजी वृद्धिको योजना पेस गर्न पनि समितिले निर्देशन गरेको छ । बीमा कम्पनीले आगामी ३० दिनभित्र पुँजी वृद्धिसम्बन्धी योजना सम्बन्धित बोर्डबाट निर्णय गराई समितिमा पेस गर्ने व्यवस्था गर्नुपर्नेछ ।
बीमा कम्पनीको चुक्ता पुँजी वृद्धि गरी समग्रमा नेटवर्थ बढाई सोअनुरूप कम्पनीको जोखिम बहन क्षमता बढाउन, कम्पनीलाई एकअर्कामा गाभ्ने गाभिने अनुकूल वातावरण सिर्जना भई उपयुक्त सङ्ख्यामा राख्न तथा पुँजीगत आधार बलियो बनाउन, ठूलो पुँजी भएमा सेवाको लागत कम भई बीमाको पहुँच विस्तार गर्न, ठूलो पुँजी कायम गरी कम्पनीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण तयार गर्न र जोखिममा आधारित पुँजीसँग सामञ्जस्यता हुनेगरी चुक्ता पुँजी कायम गर्न पुँजी वृद्धिको निर्णय गरेको समितिले जनाएको छ ।
समितिको निर्देशनअनुसारको चुक्ता पुँजी २०७९ चैत मसान्तसम्ममा कायम गरिसक्नुपर्ने र निर्धारित पुँजी उपरोक्त समयावधिभित्र पु-याउन नसक्ने कम्पनीले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका २०७६’ बमोजिम हुनेगरी पुँजी कायम गर्नुपर्ने समितिको सर्कुलरमा उल्लेख छ ।
विदेशी बीमकका रूपमा दर्ता भई सञ्चालनमा रहेको बीमकले बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३ को दफा ४ बमोजिमको तोकिएको न्यूनतम चुक्ता पुँजी बराबरको निर्धारित पुँजी कायम गर्ने र संयुक्त लगानीमा सञ्चालित कम्पनीले तोकिएको समयावधिभित्र उल्लेखित निर्देशिकाको दफा ४ बमोजिमको तोकिएको न्यूनतम चुक्ता पुँजी कायम गर्ने व्यवस्था गरिएको छ ।
अहिले नेपालमा १९ वटा जीवन बीमा कम्पनी, २० वटा निर्जीवन बीमा कम्पनी र दुई पुनर्बीमा कम्पनी छन् । बीमा समितिको आव २०७७/७८ को असार मसान्तसम्मको तथ्याङ्कअनुसार कुल जीवन बीमा शुल्क एक खर्ब २० अर्ब ९५ करोड रुपियाँ रहेको छ भने जीवन बीमाको वृद्धि प्रतिशत २७.१२ प्रतिशत रहेको छ ।
यस्तै कुल निर्जीवन बीमा शुल्क ३१ अर्ब ७० करोड रुपियाँ रहेको छ भने निर्जीवन बीमाको वृद्धि प्रतिशत २४.७४ प्रतिशत रहेको छ । कुल बीमा शुल्क एक खर्ब ५२ अर्ब ६५ करोड रुपियाँ रहेको छ भने यसको वृद्धि २६.१८ प्रतिशत रहेको छ ।