logo
२०८१ बैशाख २० बिहीवार



दुई वर्षपछि -याफ्टिङ सुरु

आन्तरिक पर्यटकको भर पानी प्रदूषित हुँदा विदेशी पर्यटक घटे

अर्थ |
पर्यटन |


दुई वर्षपछि -याफ्टिङ सुरु


शालिग्राम नेपाल

चितवन, चैत १३ गते । दुई वर्षदेखि बन्द भएको -याफ्टिङ व्यवसाय फागु पर्वसँगै पुनः सञ्चालन हुन थालेको छ । कोरोना महामारीका कारण बन्द रहेको यस क्षेत्रमा फागु पर्वपछि आन्तरिक पर्यटक -याफ्टिङ गर्न आएसँगै व्यवसाय सुरु भएको हो । नेपाल एसोसिएसन अफ -याफ्टिङका पूर्वअध्यक्ष नानीबाबु थापाले भन्नुभयो, “दुई वर्ष बन्द भएको व्यवसाय यसै हप्ताबाट सञ्चालनमा आएको छ, अब चल्छ कि भन्ने आशा पलाएको छ । ”
उहाँका अनुसार भोटेकोसी, त्रिशूली, कालीगण्डकी, सुनकोसीलगायतका नदीमा अहिले आन्तरिक पर्यटक -याफ्टिङ गर्न आउन थालेका छन् ।

दुई वर्षको अवधिमा व्यवसाय बन्द भएपछि ३० जनाभन्दा बढी व्यवसायी पलायन भइसकेका छन् । थापाले भन्नुभयो, “कति व्यवसायीले छाडे भन्ने विवरण हामीले सङ्कलन गर्दै छौँ, कार्यालय नै बन्द गरेर बस्ने धेरै छन् । व्यवसाय प्रवद्र्धन गर्ने र पर्यटक वृद्धि हुने कार्यक्रम सरकारले ल्याउन नसक्दा -याफ्टिङ व्यवसाय जोखिममा परेको छ । ”

पर्यटक वृद्धि गर्न -याफ्टिङसञ्चालन हुने वातावरण हुनुपर्ने उहाँले बताउनुभयो ।अहिले व्यवसाय सञ्चालनमा आएपछि -याफ्टिङ चल्ने नदीमा दैनिक तीन सय जनाले यात्रा गर्न थालेका छन् । ती सबै आन्तरिक पर्यटक रहेको थापाले जानकारी दिनुभयो ।

चितवनको फिस्लिङका -याफ्टिङ व्यवसाय सञ्चालक कमल ठकुरीले चार दिनअघिदेखि मात्रै बोट सञ्चालन हुन थालेको जानकारी दिनुभयो । “अहिले आन्तरिक पर्यटक मात्र आएका छन् व्यवसाय राम्रो सञ्चालन हुन विदेशी पर्यटक आउनुपर्छ । काठमाडौँदेखि पर्यटक ल्याएर -याफ्टिङ खेलाउने गरेका छौँ, -याफ्टिङ क्षेत्रको प्रचारप्रसार र यसको विकासका लागि सरकारी तहबाट काम हुनुपर्छ,” २०४५ सालदेखि -याफ्टिङ व्यवसायमा लाग्नुभएका ठकुरीले भन्नुभयो ।

अहिले क्रसर उद्योग र बालुवा निकाल्ने गर्दा त्रिशूली नदी प्रदूषित भएको र विदेशी पर्यटक आउन छाडेको उहाँले बताउनुभयो । मुग्लिन कार एन्ड -याफ्टिङ सर्भिसका सञ्चालक विनोद वगदासले एक दर्जनभन्दा धेरै व्यवसायीले त्रिशूली नदीमा -याफ्टिङ सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । भर्खर सुरु भएकाले -याफ्टिङ व्यवसाय सञ्चालनमा रहेको र यसको महत्त्वका विषयमा सर्वसाधारणलाई जानकारी गराउनुपर्ने बताउनुभयो ।

व्यवसायीका अनुसार -याफ्टिङ गर्न आउनेका लागि प्याकेजमा सेवा दिने गरिएको छ । प्रतिव्यक्ति एक हजार आठ सयदेखि दुई हजार चार सय रुपियाँसम्म गाडी भाडा, तीन घण्टाको -याफ्टिङ, खानाको व्यवस्था गर्ने गरिएको छ । रात बस्नुपरेमा सेवा खर्च वृद्धि हुने उहाँले बताउनुभयो । व्यवसायीहरूले त्रिशुली नदीमा जोगीमाराबाट मुग्लिनको तल्लो क्षेत्रको २० किलोमिटर -याफ्टिङको यात्रा गराउँदै आएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?