logo
२०८१ मंसिर ८ शनिवार



झन्डै पाँच लाख केजी जडीबुटी निकासी

अर्थ |


झन्डै पाँच लाख केजी जडीबुटी निकासी


हुम्ला, चैत १५ गते । हिमाली जिल्ला हुम्लाबाट झन्डै पाँच लाख केजी जडीबुटी निकासी भएको छ । गत पुस महिनायता जिल्लाबाट चार लाख ८० हजार केजीभन्दा बढी निकासी भएको हो । जडीबुटी नै जिल्लावासीको मुख्य आयस्रोत भएकाले एक दर्जन व्यापारीले अनुमति लिएर जडीबुटी निकासी गरेका हुन् ।

डिभिजन वन कार्यालयका सहायक वन अधिकृत प्रवीण पौडेलका अनुसार यस वर्ष हुम्लाबाट १३ प्रकारका जडीबुटी निकासी भएका छन् । सबै प्रकारका जडीबुटी गरी चार लाख ८१ हजार ३० केजी जडीबुटी निकासी भएको हो । यी जडीबुटी दुई दर्जनभन्दा बढी राष्ट्रिय तथा सामुदायिक वनबाट सङ्कलन गरिएको हो ।

उहाँले जिल्लाबाट निकासी भएका जडीबुटीमा तीन लाख ४० हजार केजी जटामसी रहेको छ भने ४९ हजार ५०० केजी कुट्की, ४८ हजार ६०० केजी सेतकचिनी, २० हजार केजी सुगन्धवाल, १४ हजार ६०० केजी उत्तीस, एक हजार केजी चिराइतो, पाँच केजी शिलाजित, चार हजार केजी धुपी, ५१० केजी कालादाना, एक हजार २५० केजी वन लसुन, ५२० केजी अल्लो र ४५ केजी गुच्ची च्याउ निकासी भएको बताउनुभयो ।यी सबै जडीबुटी कार्यालयको पञ्चवर्षीय योजनाअनुसार निकासी भएका हुन् ।यसमा जटामसीको सङ्कलन पुर्जी वन विभागबाट दिइएको हो भने अन्य ११ प्रकारका जडीबुटीको सङ्कलन पुर्जी भने कार्यालयबाटै दिइएको हो । यी जडीबुटी ४० भन्दा बढी जडीबुटी फार्मका व्यापारीबाट निकासी गरेर नेपालगञ्ज पठाइएको छ ।

गत वर्षको तुलनामा यस वर्ष कम जडीबुटी निकासी भएको छ । यस वर्ष सिमकोट गाउँपालिका ठेहे, दोजाम, खार्पुनाथ गाउँपालिका राया, थाली, दुर्पा, चङ्खेली गाउँपालिका नेप्का, मिमी, मेखालालगायतका गाउँका स्थानीय प्रतिगाउँ दुई करोडदेखि चार करोड रुपियाँसम्म जडीबुटी बिक्री गरेर आम्दानी गर्न सफल भएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?