रङ्गेली समाचारदाता
विराटनगर, चैत १६ गते । नेपाल राष्ट्र बैङ्कले, मौद्रिक नीतिमा भारतबाट क्रेडिट सुविधामा वस्तु आयात गर्न सकिने प्रावधानमा पुनरावलोकन गरेसँगै बैङ्कहरूले एड्भान्स पेमेन्ट र उधारो सुविधामा १० प्रतिशत मार्जिन लिन थालेको उद्योगीहरूले बताएका छन् । राष्ट्र बैङ्कको गत फागुनमा भएको अर्धवार्षिक समीक्षामा भारतबाट क्रेडिट सुविधामा वस्तु आयात गर्दा पाउने सुविधामा पुनरावलोकन गरेपछि त्यसको प्रभाव वस्तु आयातमा परेको हो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं खाद्यान्न उद्योगी अविनाश बोहराले भारतबाट गरिने पैठारीका लागि बैङ्कमा सुरु गरिएको नयाँ नियमले उद्योगीलाई झन्झट दिएको बताउनुभयो । यसले लगानी योग्य रकम होल्ड मात्रै गरेको बोहराको भनाइ छ । मार्जिन फुकुवा गर्ने बेलामा बैङ्कहरू आलटाल गर्न खोज्ने र भरसक समय लगाउने स्थितिको सामना गर्नुपर्ने उद्योगी बोहराको आरोप छ ।
अग्रिम भुक्तानी गरिएको मालवस्तु भारतबाट भन्सार बिन्दुसम्म आइपुग्न दुई महिना ढिला भयो भने बैङ्कमा राखेको मार्जिनको रकम पनि त्यति नै अवधि रोकिने उद्योगी बोहराको गुनासो छ ।व्यवसायीको नगदै रकम निब्र्याजी रोकिँदा समस्या उत्पन्न हुने र बैङ्कहरूले बिनालगानी र बिनाकारण व्यवसायीको नगद चलाउन पाउने उद्योगीको बुझाइ छ ।
यसैगरी नेपाल चामल–दाल–तेल उत्पादक सङ्घका उपाध्यक्ष एवं चन्द्रशिव राइस एन्ड आयलका सञ्चालक नरेश राठीले बैङ्कले सुरु गरेको नयाँ नियमले कृषिजन्य र खाद्यान्न उद्योगलाई प्रत्यक्ष असर पार्ने बताउनुभयो । खाद्यान्न उद्यमीले भारतबाट धान, गहुँ, तोरी र मकै धमाधम पैठारी गरेर मौज्दात गर्ने सिजनमा यस्तो नियम लगाइएको उद्योगी राठीको गुनासो छ ।
भारतबाट अग्रिम भुक्तानी (एड्भान्स पेमेन्ट) र उधारोमा गरिने पैठारीमा अहिले बैङकहरूले दुईदेखि १० प्रतिशत मार्जिन लिन थालेसँगै खाद्यान्न, तोरी तेल, जुट, आहार दाना र मदिरा उद्योगहरू प्रभावित भएको उद्योगीहरू बताउँछन् । नयाँ प्रावधानले नेपाली व्यवसायीले भारतबाट कुनै मालवस्तुको पैठारी गर्दा अग्रिम भुक्तानी गर्न चाहँदा बैङ्कले औद्योगिक कच्चा पदार्थका लागि कुल भुक्तानी रकमको दुई देखि पाँच प्रतिशत हिस्सा मार्जिनबापत निब्र्याजी धरौटी राख्नेछ । भारतीय व्यापारीलाई अग्रिम भुक्तानी गरेर व्यापारिक मालवस्तुको पैठारी गर्ने भए १० प्रतिशत मार्जिन बैङ्कमा जम्मा गर्नुपर्ने हुन्छ ।
उद्योगीहरूले भारतबाट उधारोमा मालवस्तुको पैठारी गर्दा पनि बैङ्कले विदेशी विनिमय नियन्त्रण (विविनि)–को फारम भर्न लगाएर १० प्रतिशत मार्जिन राख्न थालेको गुनासो गरेका छन् । बैङ्कले औद्योगिक कच्चा पदार्थका लागि भए दुईदेखि पाँच र व्यापारिक मालवस्तुका लागि भए १० प्रतिशत मार्जिन लिन थालेको हो ।
विराटनगरको चामल उद्योग राधाकृष्ण राइस मिल्सका सञ्चालक सुधीर तोदीले यो प्रावधानले भन्सार क्षेत्रमै अनावश्यक रूपमा गाडी रोकिएर बस्नुपर्ने स्थिति सिर्जना भएको बताउनुभयो । उहाँले शुक्रबार बैङ्क दिउँसो १२ बजेपछि बन्द हुन्छन् । आइतबार मात्र विविनि बनाएपछि शुक्रबार र शनिबारको डिटेन्सन शुल्क भन्सार बिन्दुलाई बुझाउनु पर्ने बाध्यता सिर्जना हुने गुनासो गर्नुभयो ।
यसैगरी नेपाल जुट उद्योग सङ्घका अध्यक्ष राजकुमार गोल्छाले मोरङ र सुनसरीमा सञ्चालित अधिकांश जुट उद्योगले ११० किलोमिटर टाढा रहेको विराटनगरस्थित बैङ्कमा कारोबार गरेर काँकडभिट्टा भन्सार पुग्नुपर्ने स्थिति आएको बताउनुभयो ।