logo
२०८१ बैशाख ५ बुधवार



२८ वर्षपछि लुहाम–काभ्रा–कालिमाटी सडकको ट्रयाक खुल्यो

अर्थ |
प्रदेश |


२८ वर्षपछि लुहाम–काभ्रा–कालिमाटी सडकको ट्रयाक खुल्यो


प्रतीक इच्छुक शर्मा
सल्यान, चैत १६ गते । सडक निर्माणकार्य सुरु भएको २८ वर्षपछि सल्यानको लुहाम–काभ्रा–कालिमाटी हुँदै प्रदेश राजधानी जोड्ने सडकको ट्रयाक खोलिएको छ । २०५० सालमा शिलान्यास भएको २६ किलोमिटर सडकको ट्रयाक खुल्न २८ वर्ष लागेको हो ।

शिलान्यास भएको २८ वर्षपछि सरकारले पूर्वाधार विकास कार्यालय सल्यानलाई सडक निर्माणको जिम्मा दिएपछि लुहामदेखि कालिमाटीसम्म २६ किलोमिटर ट्रयाक खुलेर गाडी सञ्चालनमा आएका हुन् । कालिमाटी गाउँपालिका –१ दलपुरेका टोपबहादुर भण्डारीले पश्चिम दक्षिणकै मेरुदण्डको रुपमा रहेको सो सडक सञ्चालनमा आएसँगै आवागमनमा सहज हुने बताउनुभयो । उहाँका अनुसार सडक सञ्चालनमा आएसँगै कपुरकोट, छेश्वरी, त्रिवेणी र कालिमाटी गाउँपालिकाका स्थानीयलाई कर्णाली प्रदेशको राजधानी पुग्न सहज भएको छ ।

सडक सञ्चालन गर्दा जग्गाको विषय, ठेकेदारको लापरवाही, जनयुद्धको प्रभावलगायतका कारण वषौंदेखि रोकिदै आएको सडकले २८ वर्षपछि पूर्णता पाएको हो । स्थानीय वेदप्रसाद केसीले लुहाम, काभ्रा कालिमाटी जोड्न सडकको १६ किलोमिटरमा ट्रयाक खुलेको धेरै भएपनि बाँकी ट्रयाक खोल्न वर्षौ लागे पनि अहिले पूर्णता पाएको बताउनुभयो ।

त्रिवेणी गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीले अब सुर्खेत जान दुई जिल्ला पुग्नुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो । उहाँका अनुसार सिधा सडक सञ्जाल नहुँदा सुर्खेत पुग्न, दाङ, बाँके हुँदै जानुपर्थ्याे तर अब तीन चार घण्टामै सुर्खेत पुग्न सकिने भएको छ ।

साविकको जिल्ला विकास समिति हुँदादेखि नै ट्रयाक खोल्न बजेट विनियोजन हुनेगरेको भए पनि थोरै बजेटका कारण सडक सूचारु हुन सकिरहेको थिएन । पूूर्वाधार विकास कार्यालय सल्यानका प्रमुख इन्जिनियर विनोद पुनले ४ किलो मिटर नयाँ ट्रयाक ओपन र लुहामदेखि काभ्रासम्म सडक चौडा गर्ने र ग्राभेल गर्नेगरी ६ करोडको लागतमा ट्रयाक ओपनसहित स्तरोन्नतिको काम सुरु भएको बताउनुभयो । उहाँका अनुसार प्रदेश सरकारको गौरवको आयोजना अन्तर्गत रहेको लुहाम, काभ्रा कालिमाटी हुँदै प्रदेश राजधानी जोड्ने सडकले पूर्णता पाएको छ । प्रदेश राजधानी जोड्ने यस सडकको स्तरोन्नति अन्तर्गत ११ किलोमिटर कालोपत्रे गर्न ३५ करोड रुपियाँको टेन्डर आह्वान भइसकेको कार्यालयले जनाएको छ ।

ट्रयाकको उद्घाटन गर्दै कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले भौतिक, सामाजिक, सांस्कृतिक विकासमा कोही कसैले राजनीति गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकको सामाजिक, आर्थिक विकासमा राजनीति गर्न हुँदैन ।” तत्कालिन जिल्ला विकास समितिले सुरु गरेको सडकमा यसअघि २० करोड रुपियाँ खर्च भैसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?