logo
२०८१ मंसिर ८ शनिवार



स्रोत सुनिश्चितपछि मात्रै पर्यटन पूर्वाधारमा लगानी

अर्थ |


स्रोत सुनिश्चितपछि मात्रै पर्यटन पूर्वाधारमा लगानी


रङ्गेली समाचारदाता

विराटनर, चैत १९ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले स्रोत सुनिश्चित नभई पर्यटन पूर्वाधार निर्माणको काम अगाडि बढाउन नहुने बताउनुभएको छ ।विराटनगरमा शुक्रबार मोरङ ट्रेड एक्स्पोको उद्घाटन गर्दै मन्त्री आलेले आवश्यक पूर्वाधार विकासका लागि स्रोत सुनिश्चित गरेर मात्रै काम अगाडि बढाउने बताउनुभएको हो । विराटनगर विमानस्थल विस्तारको विषयमा कार्यक्रमका विशिष्ट अतिथि नेपाली काँग्रेसका नेता डा. मीनेन्द्र रिजालसहितले जिज्ञासा राख्नुभएपछि मन्त्री आलेले स्रोत सुनिश्चित नहुँदा काम रोकिएको बताउनुभएको थियो ।

उहाँले विराटनगर विमानस्थलमा तीन अर्ब रुपियाँ लागतमा बन्न लागेको टर्मिनल भवनको बोलपत्र खारेजी गरिएको बताउनुभयो । “तीन अर्बको भवन निर्माणका लागि ३० करोड मात्रै बजेट हुँदा बोलपत्र आह्वान गरेको पाइएपछि त्यसलाई खारेजी गर्नुपरेको हो,” मन्त्री आलेले भन्नुभयो । उहाँले विराटनगर विमानस्थल विस्तारका लागि वैकल्पिक जमिनको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको पनि बताउनुभयो ।

विस्तार योजना क्षेत्रका लागि विमानस्थल आसपासको जग्गा अधिग्रहण गर्दा मात्रै १८ अर्ब रुपियाँ खर्च गर्नुपर्ने बताउँदै उहाँले सहरभन्दा केही टाढा विमानस्थलका लागि नयाँ जग्गा खोज्नुपर्नेमा जोड दिनुभयो ।“मुआब्जा दिनसक्ने स्थिति छैन, तत्काललाई साबिक विमानस्थलको ब्युटिफिकेसन गर्ने र दीर्घकालमा विस्तार गर्ने काम गरिनुपर्छ । सबैको सरोकारलाई सबैले मिलेर मात्रै अगाडि बढाउन सकिन्छ,” मन्त्री आलेले भन्नुभयो । उहाँले विमानस्थल विस्तारका लागि आवश्यक बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयसँग माग गरिएको दाबी गर्नुभयो । आगामी वैशाखको बुद्ध जयन्तीका दिन गौतम बुद्ध विमानस्थल र पाँच महिनापछि पोखरा विमानस्थलबाट उडान सुरु गर्ने तयारी भइरहेको जानकारी दिनुहुँदै मन्त्री आलेले विराटनगरलाई समेत पछाडि पर्न नदिने आश्वासन दिनुभयो ।

अर्को एक प्रसङ्गमा मन्त्री आलले देशको देवस्थली र नारायणहिटी दरबार क्षेत्र कौडीको भाउमा बिक्री गरेको आरोप लगाउँदै त्यसको संरक्षण गर्ने जिम्मेवारी पूरा गरेको बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं पूर्वरक्षामन्त्री डा. मीनेन्द्र रिजालले कृषि तथा औद्योगिक प्रदर्शनीले पर्यटन र औद्योगिक क्षेत्रलाई एकसाथ जोड्ने धारणा राख्नुभयो । उहाँले विराटनगर विमानस्थल विस्तार कार्य अगाडि बढाउन सरकारले चासो राख्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले सीमा क्षेत्रको सहर विराटनगरमा पर्यटकीय आवागमन बढाउन विमानस्थलको विस्तार र सौन्दर्यीकरण आवश्यक रहेको बताउनुभयो । नौ दिनसम्म आयोजना हुने ट्रेड एक्स्पोमा २७० स्टल राखिएका छन् । आयोजक समितिका संयोजक विकास बेगवानीका अनुसार ४० करोड रुपियाँको आर्थिक कारोबार हुने अपेक्षा राखिएको यो मेलामा तीन लाख अवलोकनकर्ता भित्र्याउने लक्ष्य राखिएको
जानकारी दिनुभयो ।

विराटनगर–लुक्ला उडान हुन्छ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विराटनगर विमानस्थलबाट लुक्ला उडान हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री आलेले काठमाडौँ केन्द्रित सिन्डिकेट तोडेर विराटनगर–लुक्ला उडान गराउन आफूले पहल लिने बताउनुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?