logo
२०८० चैत्र १५ बिहीवार



जयनगर–जनकपुर कुर्था रेल सेवा उद्घाटन : स्थानीयमा उत्साह

अर्थ |


जयनगर–जनकपुर कुर्था रेल सेवा उद्घाटन : स्थानीयमा उत्साह
तस्बिर : धीरेन्द्रप्रसाद साह


धीरेन्द्रप्रसाद साह/विजयकुमार साह
जनकपुर, चैत्र १९ गते। राष्ट्रिय गौरवको आयोजनामध्येको एक जयनगर–जनकपुर कुर्था रेल सेवाको लामो प्रतिक्षापछि शनिबार भव्य समारोहबीच उद्घाटन भएको छ। रेलमार्गका विभिन्न आठ वटा होल्ड तथा स्टेशनमा उपस्थित सर्वसाधारणले रेल, चालक दल तथा नेपाल रेल कम्पनीका पदाधिकारीलाई अभिनन्दन तथा स्वागत सम्मान गरेका छन्।

भारतको दिल्लीस्थित हैदरावाद हाउसबाट प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा जयनगर–जनकपुर कुर्था रेल सेवाको भर्चुअल माध्यमबाट हरियो झण्डा देखाएर उद्घाटन गर्नुभयो। प्रधानमन्त्री देउवा तीन दिने भारत भ्रमणमा हुनुहुन्छ।

दुवै देशका प्रधानमन्त्रीले नेपाली सयम अनुसार दिउँसो करिब एक बजे रेल उद्घाटन गर्नुभयो। उहाँहरुले उद्घाटन गर्नुहुँदै झण्डा फहराएर रेल सञ्चालनका लागि सङ्केत दिएपछि जयनगरमा दुहली झैं शृङ्गारिएको रेल कुर्थातर्फ प्रस्थान गरेको थियो।

उद्घाटनका लागि जनकपुरधाम र जयनगर रेल्वे स्टेशनलाई भव्य तरिकाले सजाइएको थियो भने उद्घाटन कार्यक्रमको धेरैभन्दा धेरै मानिसले प्रत्यक्ष हेर्न पाउन भनेर दुई ठूल्ठूला प्रोजेक्टर जडान गरिएको छ। बाटोमा पर्ने इनर्वा र खजुरीलगायतका रेल्वे स्टेशन पनि चिटिक्क पारिएको छ।

उद्घाटनको अवसरमा भारतीय राजदूतावासका उच्च अधिकारी, भारतीय रेल्वे कम्पनी र नेपाल रेल्वे कम्पनीका उच्च अधिकारीलगायत विद्यार्थीले नेपाल र भारतको झण्डा फहराउनु भएको थियो। उद्घाटन पश्चात कुर्थातर्फ प्रस्थान गरेको रेल इनर्वा, खजुरीलगायत सबै रेल्वे स्टेशनमा केही बेरका लागि रोकिदै जनकपुर आइपुगेको छ। ती स्टेशनमा सर्वसाधारण, विद्यार्थीले जय नेपालको नारा लगाउँदै रेल चालक दलका सदस्य तथा नेपाल रेल कम्पनीका महाप्रबन्धक निरन्जन झालाई माला र अविर लगाएर भव्य स्वागत गर्नुभयो। जनकपुर रेल्वे स्टेशनमा आयोजित औपचारिक समारोहलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादव र मधेस प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतलगायत अथितिले सम्बोधन गर्नुभएको छ।

भारत सरकारको आठ अर्ब ७७ करोड नेपाली रुपियाँ आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको ५२ किलोमिटर रेलमार्गमा रेल सञ्चालनका लागि २०७७ असोज २ गते भारतीय रेल्वे कम्पनी कोंकणले कर्पोरेशनसँग ८४ करोड ६५ लाख रुपियाँमा दुई सेट ‘डेमो ट्रेन’ (डिजेल इलेक्ट्रिक मल्टिपल युनिट) खरिद गरी ल्याइएको थियो। सो रेलमा १२ सयदेखि १३ सयसम्म यात्रु यात्रा गर्न सक्छन्।

यात्रुबाहक रेल भएकाले यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिनेछ। नेपालमा राणाकालमा १९९४ तिर जयनगरदेखि जनकपुरसम्म सञ्चालन भएको रेल सेवा २०६७ सालमा प्राविधिक कारणले बन्द भएको थियो। झण्डै एघार वर्षपछि वर्तमान सरकारको रेल सेवा सुरु गर्नुभएको छ।

अहिले जयनगर–कुर्था गरी कूल ३५ किमी लम्बाईमा रेल सञ्चालन हुनेछ। कुर्थादेखि बिजुलपुरासम्म थप १७ किमी रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ। विजलपुरासम्म गरी ५२ किमीमा छिट्टै रेल सञ्चालन हुने महाप्रबन्धक झाले जानकारी दिनुभयो। रेल सञ्चालन पश्चात पर्यटन प्रवद्र्धन तथा व्यापार व्यवसाय फस्टाउने विश्वास जनकपुरवासीको छ भने यस भेगका नागरिक खुशी देखिएका छन्।
उद्घाटनपछि आइतबारबाट दिनको दुई पटक रेल जयनगर–कुर्थासम्म चल्ने महाप्रबन्धक झाले बताउनुभयो। यसको लागि सामान्य सिटमा ९० र एसीमा ४५० भाडादर निर्धारण गरिएको छ। आइतबारदेखि जयनगरबाट बिहान ८:३० र दिउँसो ३ बजे छुट्नेछ भने कुर्थाबाट बिहान १०:३० र दिउँसो ५:१५ मा अर्को रेल छुट्ने महाप्रबन्धक झाले जानकारी दिनुभयो।

रेललाई स्वागत गर्न उपस्थित सर्वसाधारण। तस्बिर : धीरेन्द्रप्रसाद साह

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?