logo
२०८१ बैशाख २३ आईतवार



घोडाघोडीमा राष्ट्रिय सहकारी दिवस मनाइयो

अर्थ |
प्रदेश |


घोडाघोडीमा राष्ट्रिय सहकारी दिवस मनाइयो


चाँदनी आचार्य
घोडाघोडी (कैलाली), चैत २० गते । कैलालीको सुखडमा ६५ औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ । घोडाघोडी नगरपालिकाको आयोजनामा ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी, दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ नाराकासाथ अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाइएको हो ।

अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश वक्ताले सहकारीको संख्या बृद्धिसँगै सहकारीभित्र देखिएका कमिकमजोरीबारेमा चर्चा गर्नुभयो । मोहन्याल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बजिरसिंह बमले सहकारीको मर्म नबुझि खोलिएका सहकारीको लगानी उपलब्धीमुलक नहुने बताउनुभयो ।

एउटै प्रकृतिका सहकारीमा सदस्य लिएका सेयर सदस्यले धेरै सहकारीमा सदस्य लिन नपाउने सहकारीको नीति भए पनि एउटै व्यक्ति धेरै सहकारीको सेयर सदस्य भएको उल्लेख गर्दै अध्यक्ष बम्ले एउटा सहकारीमा ऋण लिएर तिर्न नसकी अर्को सहकारीमा सेयर सदस्य बनेर ऋण लिने प्रवृति बढेको बताउनुभयो । ‘यसरी सेयर सदस्यको पहिचान नगरी सेयर सदस्य दिने सहकारी डुब्दै गएका छन’् अध्यक्ष बम्ले भन्नुभयो ।

त्यसैगरी घोडाघोडी नकरोड बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष लक्ष्मी चौधरीले सहकारीले बचत संकलन र ऋण लगानीलाई मात्र ध्यान नदिई उत्पादनमुखि कार्यलाई समेत ध्यान दिनुपर्ने बताउनुभयो । सहकारीबाट व्यवसायका लागि ऋण लिने र अन्यत्र खर्चगर्ने गरेको पाइएकाले ऋण लगानी गर्दा उद्देश्यलाई ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

नगरपालिकाका उपप्रमुख प्रेमकुमारी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमको सहजीकरण नगर सहकारी संस्था सञ्जालले गरेको थियो । संजालका अध्यक्ष एवम् सहकारी व्यवस्थापकहरुको संस्था सीएमसी कैलालीका उपाध्यक्ष लालबहादुर भण्डारीले सहकारी ऐन २०७४ अनुसार नेपालमा ३४ हजार ५१२ वटा सहकारी संस्था रहेको बताउनुभयो ।

अठार वटा विषयगत रुपमा दर्ता भएका सहकारीमध्ये अधिकांश बचत तथा ऋण सहकारी संस्था रहेको उहाँले जानकारी दिनुभयो । १३ वटा नीतिलाई टेकेर सहकारी संस्था सञ्चालन हुनुपर्ने बताउँदै उपाध्यक्ष भण्डारीले सरकारले नीतिअनुसार नचलेका सहकारीलाई कार्वाही र एउटै उद्देश्य भएका सहकारीलाई मर्जगर्दै १५ हजारमा झार्ने लक्ष्य लिएको बताउनुभयो ।

घोडाघोडी नगरपालिकामा स्थानीय सरकार आएपछि हाल ५८ वटा सहकारी सञ्चालनमा रहेका छन् । घोडाघोडीमा सञ्चालनमा आएका सहकारीको समेत अनुगमन गरिएको बताउँदै उपाध्यक्ष भण्डारीले धेरै संस्था सहकारीको मर्म र नीतिअनुसार नचलेको टिप्पणी गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?