logo
२०८१ बैशाख १४ शुक्रवार



माछापालक किसानलाई माछाको भुरा सहयोग

अर्थ |
समाज |


माछापालक किसानलाई माछाको भुरा सहयोग
किसानलाई माछाको भुरा प्रदान गरिँदै । तस्बिरः बेलिना थापा



बेलिना थापा
लमजुङ, चैत २३ गते । लमजुङको मर्स्याङ्दी गाउँपालिकाका माछापालन गर्ने किसानले माछाको भुरा सहयोग पाएका छन् । गाउँपालिका पशुसेवा शाखाले माछापालन गर्ने नौजना किसानलाई माछाको भुरा प्रदान गरेको हो । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले मङ्गलबार किसानलाई माछाको भुरा हस्तान्तरण गर्नुभएको छ ।

गाउँपालिकाको आर्थिक बर्ष २०७८/०७९ पशुसेवातर्फको वार्षिक स्वीकृत कार्यक्रमको ‘मत्स्य मिसन कार्यक्रम’ अन्तर्गत माछाको भुरा प्रदान गरिएको हो । गाउँपालिकाका वडा नं. ४, ५, ६, ७ र ९ का माछापालक किसानलाई भुरा प्रदान गरिएको पशुसेवा शाखाका प्रमुख पवन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार माछापालन गर्दै आएका किसानलाई व्यवसायमा थप सहज बनाउन निःशुल्क रुपमा भुरा प्रदान गरिएको हो । नौजना किसानलाई गरी १५ हजार वटा भुरा दिइएको छ ।

तनहुँको खहरेबाट ९५ हजार रुपियाँमा भुरा खरिद गरी ल्याएर किसानलाई दिएको गाउँपालिकाले जनाएको छ । माछाको भुरा कार्प जातको छ । कमन कार्प, ग्रास कार्प, सिल्भर कार्प, रोही कार्प र नैनी कार्प माछा छन् । माछा करिव नौ महिना उमेरको छ । पशु सेवा शाखा प्रमुख श्रेष्ठले माछाको बारेमा र माछा हाल्ने तरिकाको बारेमा जानकारी गराउनुभएको थियो ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले मत्स्य मिसन कार्यक्रम गाउँपालिकाले यसै बर्षबाट सञ्चालन गरेको बताउनुभयो । कार्यक्रमका लागि १९ लाख रुपियाँ बजेट छ । अहिले भुरा प्रदान गरिएका किसानलाई यसअघि माछापोखरी निर्माणका लागि ५० प्रतिशत अनुदान दिएको थियो । अहिले माछापोखरी निर्माण भइसकेको छ । व्यवसायीलाई सहज बनाउन गाउँपालिकाले विभिन्न अनुदानको कार्यक्रम ल्याएको बताउनुभयो ।

माछाको भुरा वितरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्याल, पशुसेवा शाखाप्रमुख पवन श्रेष्ठ, अन्य कर्मचारी, किसानलगायतको उपस्थिति थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?