logo
२०८१ बैशाख ११ मंगलवार



धनगढीमा फारवेष्ट ट्राभल मार्ट आयोजना हुँदै

अर्थ |
प्रदेश |


धनगढीमा फारवेष्ट ट्राभल मार्ट आयोजना हुँदै


अविनाश चौधरी
धनगढी, चैत २३ गते । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा फारवेष्ट ट्राभल मार्ट आयोजना हुनेभएको छ । पर्यटकीय सम्भावनाको उजागर, बजारीकरण गर्ने र पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यले चैत २५ देखि २७ गतेसम्म मार्ट आयोजना हुन लागेको हो ।

नेपाल पर्यटन बोर्ड र धनगढी उपमहानगरपालिकाको आर्थिक सहयोगमा नाट्टा सुदूरपश्चिम धनगढीस्थित रुबस होटलमा मार्ट आयोजना गर्ने बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । मार्टमा ३० वटा स्टल रहने फारवेष्ट ट्राभल मार्टका संयोजक मायाप्रकाश भट्टले बताउनुभयो । मार्टमा स्वदेशी तथा विदेशी गरी ३०० भन्दा बढी अतिथिहरु रहने र पहिलो दिन उहाँहरुबीच व्यावसायिक अन्तरक्रिया (बीटुबी) हुने जनाइएको छ ।

भारतीय पर्यटकलाई भित्र्याउन बढीभन्दा बढी प्रचारप्रसार गर्ने उद्देश्यकासाथ सुदूरपश्चिम ट्राभल मार्ट आयोजना हुन लागेको नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा. धनञ्जय रेग्मीले बताउनुभयो । ‘मेला, महोत्सवजस्तो होइन यो । मार्टमा केही सेलेक्टेड व्यक्तिमात्रै सहभागी हुन्छन्’, उहाँले भन्नुभयो । सुदूरपश्चिम घुम्ने ठाउँहरु छन् भन्ने देखाउन मार्ट आयोजना हुन लागेको उहाँले जानकारी दिनुभयो ।

मार्टमा भारतको दिल्ली, नैनीताल, देहरादुन, खटिमालगायतका ठाउँका पर्यटन व्यवसायी, टुर अपरेटर, गाइड, सञ्चारकर्मी आउने आयोजकले जनाएको छ । मार्टको दोस्रो दिन अतिथिहरुलाई धनगढीको शिवपुरी धाम, जाखोर ताल, बेहडाबाबा मन्दिर, कञ्चनपुरको लिङ्गा हुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, दोधारा चाँदनी झोलुङ्गे पुलको भ्रमण गराउने आयोजकले जनाएको छ ।
तेस्रो दिन घोडाघोडी बर्ड सेन्चुरी, टीकापुर पार्क, कर्णाली पुलको भ्रमण अवलोकनका साथै कर्णाली नदीमा ¥याफ्टिङ गराउने आयोजकले जानकारी दिएको छ । दूरीको हिसाबले भारतका केही सहर अत्यन्त नजिक रहेकाले कार्यक्रमले भारतीय पर्यटकलाई सुदूरपश्चिमको भ्रमण गर्नमा सहयोग पु¥याउने विश्वास गरिएको कार्यकारी निर्देशक रेग्मीले बताउनुभयो ।

‘सुदूरपश्चिममा गोरा पर्यटकहरु मात्रै भित्र्याउनु पर्छ भन्ने होइन । अबको पर्यटन भारतीय पर्यटकप्रति बढी लक्षित हुनुपर्दछ भनेर यो कार्यक्रम गर्न लागिएको हो’, उहाँले भन्नुभयो । ‘कोरोना कहरपछि अहिले नेपाल आउने सबैभन्दा बढी पर्यटक नै भारतीय छन् । भारतीय पर्यटक आउनेक्रम लगभग पहिलेकै अवस्थामा पुगिसकेको छ’ रेग्मीले भन्नुभयो ।

मार्टमा आएका भारतीय पर्यटन व्यवसायीले नेपालको सुदूरपश्चिमका पर्यटकीय क्षेत्रलाई समेटेर आफ्ना टुर प्याकेज बनाउने आयोजकले अपेक्षा गरेको छ । ‘हामीले उनीहरुलाई राम्रो देखाउन, खुवाउन, स्वागत सत्कार गर्न सक्यौं भने अवश्य पनि भारतीय टुर अपरेटरले प्याकेज बनाउनेछन’, नाट्टा सुदूरपश्चिमका अध्यक्षसमेत रहनु भएका मार्टका संयोजक भट्टले भन्नुभयो । पर्यटन व्यवसायी, सञ्चारकर्मी गरेर भारतबाट करिब डेढसय पाहुना आउने उहाँले जानकारी दिनुभयो ।

मार्ट आयोजना गर्न करिब ५० देखि ६० लाख रुपियाँ खर्च हुने आयोजकले जानकारी दिएको छ । यसका लागि नेपाल पर्यटन बोर्डले ३० लाख, धनगढी उपमहानगरपालिकाले पाँच लाख रुपियाँ बजेट सहयोग गरेको आयोजकको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?