logo
२०८१ बैशाख १४ शुक्रवार



पैसा फिर्ताको माग गर्दै बराह सहकारीका बचतकर्ता आन्दोलित

अर्थ |
प्रदेश |


पैसा फिर्ताको माग गर्दै बराह सहकारीका बचतकर्ता आन्दोलित


निशा राई
धरान, चैत २३ गते । बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचतकर्ताहरूले बराहमा नगद भुक्तानीको माग गर्दै घेराउ गरेका छन् । बराह गु्रपले सञ्चालन गरेको सहकारीले बचतकर्तालाई चैत १ गते एक सूचना जारी गरी चैत २२ गतेदेखि बचतकर्तालाई नगद भुक्तानी गर्ने भनेको थियो । सूचनाअनुसार बराह कम्प्लेक्समा मंगलबार ठूलो सङ्ख्यामा बचतकर्ताको भिड लागेको थियो । सूचनाअनुसार भुक्तानी नहुँदा बचतकर्ताहरू आक्रोसित भएका हुन् ।

सहकारीका मुख्य सञ्चालकले आगामी बैशाख १५ गते बचतकर्ताको रकम भुक्तानी गर्ने भन्दै अर्को सूचना जारी गरेपछि आश्वासन मात्र दिएको भन्दै बचतकर्ताहरूले कम्प्लेक्स घेराउ गरेका थिए ।

बराह कम्प्लेक्समा बचतकर्ताहरूको भिड बढेपछि सुरक्षाका लागि प्रहरी खटाइएको थियो । केही समयदेखि बराह सहकारी आर्थिक सङ्कटमा परेको थाहा पाएपछि बचतकर्ताले खातामा भएको आफ्नो बचत रकम फिर्ता पाउनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रेका छन् ।

बराहलाई विश्वास गरी धरानलगायत आसपासका जिल्लाका धेरै बचतकर्ताले बराहमा खाता खोली आफ्नो पैसा वचत गर्दैआएको बताएका छन् । अहिले बराह सहकारी संस्था आर्थिक संकटमा पर्दा बचतकर्ताहरु रकम डुब्ने आशंका गरेका छन् ।

धरान ८ को उमा राईकाअनुसार दुःख गरेर बचत गरेको पैसा फिर्ता गर्न बचतकर्ताले माग गरेका छन् । धरान १५ का सरिता तामाङ्गले गाउँबाट आफन्तको रुपियाँ जम्मा गरेको बराह आर्थिक संकटमा परेको सुनेपछि जम्मा गरेको रुपियाँ फिर्ता लिन कार्यालयमा आएको बताउनुभयो ।

बराहका सञ्चालकले वचतकर्ताहरुलाई विश्वास गर्न आग्रह गर्नुभएको छ । विस्तारै समस्या समाधान हुने आश्वासन उहाँहरुले दिइरहनुभएको छ । ऋण लगानी असुल गर्ने, ऋण लगानी नउठे धितो लिलाम गर्नेलगायत आवश्यक प्रक्रिया अपनाएर पनि लगानी उठाउने र वचतकर्ताहरुको रकम फिर्ता गर्ने सहकारीका शिवकुमार लामिछानेले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?