logo
२०८१ जेष्ठ ४ शुक्रवार



वेतन कर्णालीको मुआब्जा निर्धारण

अर्थ |


वेतन कर्णालीको मुआब्जा निर्धारण


शिवराज ढुङ्गाना

मङ्गलसेन, चैत २५ गते । अछाम–सुर्खेत बीचमा रहेको कर्णाली नदीमा निर्माण गरिन लागेको वेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाका प्रभावितको जग्गा मुआब्जा निर्धारण गरिएको छ ।आयोजनाले प्रभाव पार्ने अछामको ढकारी र तुर्माखाँदका बासिन्दाको जग्गालाई दुई किसिममा वर्गीकरण गरेर मुआब्जा दिइने भएको हो । प्रमुख जिल्ला अधिकारीको अध्यक्षताको मुआब्जा रकम निर्धारण सिफारिस समितिले खेतीयोग्य जमिन र पाखोमा विभाजन गरेर मुआब्जा निर्धारण गरिएको हो ।

कृषियोग्यको ‘क’, ‘ख’ र ‘ग’ श्रेणीमा पर्ने जग्गालाई प्रतिरोपनी सात लाख ३० हजार ९०४ रुपियाँ दिइनेछ । यस्तै कृषियोग्य ‘घ’ र ‘ङ’ श्रेणीका जग्गाधनीले प्रतिरोपनी पाँच लाख ४६ हजार ३३२ रुपियाँ मुआब्जा पाउने निर्णय भएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले जानकारी दिनुभयो ।यसअघि गएको साउनमा निर्धारण गरिएको दरभन्दा १५ प्रतिशत रकम बढाएर मुआब्जा निर्धारण गरिएको हो । साउनमा कृषियोग्य जमिनको प्रतिरोपनी छ लाख ३५ हजार ५६९ र पाखो जमिनको चार लाख ७५ हजार ७२ रुपियाँ मुआब्जा निर्धारण गरिएको थियो ।

वेतन कर्णाली आयोजनाको मुआब्जा टुङ्गिएको ढकारी गाउँपालिका–६, ढुङ्गाचाल्नाका वडाध्यक्ष नरबहादुर बुढाले बताउनुभयो । “दुई वर्षदेखि मुआब्जा विवाद अड्केकै थियो, अहिले निर्णय गरेका छौँ,” वडाध्यक्ष बुढाले भन्नुभयो ।
अछामतर्फको मुआब्जा निर्धारण भएको र सुर्खेततर्फको टुङ्गो लाग्नेबित्तिकै रकम बाँड्ने प्रक्रिया आरम्भ गर्ने आयोजना प्रमुख उपेन्द्र न्यौपानेले बताउनुभयो । डीपीआरको तयारी, टनेल खन्ने, अछाम खण्डबाट पहुँचमार्ग, क्याम्प हाउसलगायतका काम भइसकेको न्यौपानेको भनाइ छ ।

मुआब्जा निर्धारणसँगै आयोजनाले गति लिएर त्यस क्षेत्रको भौतिक र आर्थिक क्षेत्रमा परिवर्तन आउने बुढाको भनाइ छ । आयोजनाका लागि आवश्यक थप जग्गा प्राप्ति र आवश्यक नभएका केही जग्गा मुआब्जा पाउनेबाट समितिले हटाएको छ । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको मुख्य लगानीमा निर्माण गरिने आयोजनामा तीन वर्षदेखि मुआब्जामा ढिलाइ भइरहेकाले आयोजनाको काम अगाडि बढ्न नसकेको बताइएको छ ।

वेतन कर्णाली जलविद्युत् आयोजनाबाट प्रभावित हुने करिब दुई हजार ५०० रोपनी जग्गामध्ये अछामको तुर्माखाँद र ढकारीमा एक हजार ८४४ रोपनी जग्गा पर्छ । आयोजनाबाट अछामको ढकारी गाउँपालिका–६, तुर्माखाँद गाउँपालिकाका–३, ४ र ५ नाडाका बासिन्दा प्रत्यक्ष प्रभावित हुनेछन् । यस्तै सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–६, पञ्चपुरी नगरपालिका–७ का बासिन्दा प्रत्यक्ष प्रभावित हुनेछन् ।
वेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको ४३९ मेगावाटको अर्धजलाशययुक्त आयोजनाको विद्युत्गृह, बेसक्याम्प हाउस, हेड टनेल अछामको ढकारी गाउँपालिका–६ को ढुङ्गाचाल्नामा निर्माण हुनेछ ।

यस्तै आयोजनाको डाइभर्सन टनेल सुर्खेतको चौकुने गाउँपालिका–६ मा र बाँधस्थल दुवै गाउँपालिकाको सीमामा पर्नेछ । ७४ अर्ब १५ करोड रुपियाँ लागतमा निर्माण गरिने अनुमान गरिएको आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाका लागि कर्णाली नदीमा १४० मिटर अग्लो बाँध बाँधेर सुरुङमार्फत भूमिगत विद्युत्गृहमा पानी पु-याइनेछ । यसको जलाशयमा एक करोड २५ लाख घनमिटर पानी सञ्चय गर्न सकिने बताइएको छ ।
यसरी जम्मा भएको पानी ६.६ किलोमिटर लामो हेडरेस टनेल र ३४५ मिटर लामो पेनस्टक पाइपबाट टर्वाइनमा खसालिनेछ । त्यसपछि सो पानी १०० मिटर लामो टेलरेस टनेलबाट बाहिरिने योजना छ । विद्युत्गृहमा तीनवटा टर्वाइन रहने र वार्षिक दुई हजार २९९ गिगावाट प्रतिघण्टा विद्युत् प्राप्त उल्लेख छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?