logo
२०८१ जेष्ठ ४ शुक्रवार

   नेपाल टेलिकमको १००:२० को अनुपातमा बोनस सेयर    



चुक्ता पुँजी अठार अर्ब पु-याइने

अर्थ |


चुक्ता पुँजी अठार अर्ब पु-याइने


गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत २५ गते । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले १००ः२० अनुपातमा बोनस सेयर र प्रतिसेयर २० रुपियाँका दरले नगद लाभांश वितरण गर्ने भएको छ ।कम्पनीको बिहीबार राजधानीमा बसेको चौधौँ वार्षिक साधारण सभाले आव २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गरी कम्पनीको जारी तथा चुक्ता पुँजी १८ अर्ब रुपियाँ पु-याउने प्रस्ताव पारित गरेको हो ।

साधारण सभाले आव २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीउपर छलफल गरी पारित गरेको छ ।
सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले आव २०७७/७८ मा कम्पनीले कर तथा गैरकरबापत आफ्नो कुल आयको ५० प्रतिशतभन्दा बढी रकम अर्थात् २७ अर्ब ७३ करोड रुपियाँ राजस्व दाखिला गरेको जानकारी दिनुभयो ।

सोही अवधिमा संस्थागततर्फ सबैभन्दा बढी आयकर दिने कम्पनीका रूपमा नेपाल टेलिकम सरकारबाट सम्मानित भएको पनि उहाँले बताउनुभयो ।इन्टरनेटको बहुउपयोगमार्फत सूचना प्रवाहलाई सजिलो र प्रभावकारी बनाउनुका साथै इन्टरनेट सेवाको विस्तारमा नेपाल टेलिकमको ध्यान केन्द्रित भएको जानकारी दिँदै उहाँले स्याटेलाइट प्रविधिको समेत प्रयोग गरी विकट हिमाली जिल्लामा वायरलेस तथा वायरलाइन सेवा उपलब्ध गराइएको बताउनुभयो ।
सचिव अर्यालले मुलुकभर अप्टिकल फाइबर विस्तार गर्नुका साथै बीटीएस तथा ट्रान्समिसन उपकरण जडान गरी स्थानीय टेलिफोन सेवा, फोरजी एलटीई सेवा र एफटीटीएच सेवा विस्तार तथा वितरणमा तीव्रता दिइएका बताउनुभयो ।

नेपाल सरकारको सूचना महामार्ग निर्माणको लक्ष्यमा सहयोग पु-याउन कम्पनीले ब्याकबोन नेटवर्क, मल्टिपल क्रसबोर्डर अप्टिकल फाइबर नेटवर्क र मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । नेपाल सरकारको नीतिअनुरूप स्थानीय तहको केन्द्र, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक माध्यमिक विद्यालय र सामुदायिक क्याम्पसमा इन्टरनेट सेवा विस्तार गर्ने कार्यलाई निरन्तरता दिनुका साथै स्थानीय तहहरूमा फोरजी सेवा विस्तार गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?