logo
२०८१ जेष्ठ ४ शुक्रवार



उद्यमशीलताबाट समृद्धि

अर्थ |


उद्यमशीलताबाट समृद्धि


गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत २६ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सहकारीको पुँजी र जनशक्तिलाई मुलुकको समृद्धितर्फ लैजान सकिने बताउनुभएको छ । त्यसका लागि नीतिगत तथा कानुनी अड्चन समाधान गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । राष्ट्रिय सहकारी महासङ्घ नेपालको आयोजनामा शुक्रबारदेखि राजधानीमा सुरु भएको ‘नेसनल युथ फोरम ः कोअपरेटिभ अन्ट्रपेनियरसिप २०२२’मा मन्त्री पौडेलले उद्यमशीलता विकास गरेर समृद्धिको बाटोमा हिँड्न युवा अग्रसर हुनुपर्ने बताउनुभयो ।
मुलुकमा रहेको प्रचुर सम्भावनालाई विदेशीले देखेको तर नेपालीले चिन्न नसकेको चर्चा गर्दै उहाँले सम्भावना खोज्ने अभियानमा सहकारीलाई सारथि बनाउन युवासँग आग्रह गर्नुभयो ।

कार्यक्रमका सभापति तथा सहकारी महासङ्घका सञ्चालक सागर ढकालले सहकारीमार्फत उद्यमशीलताको तिर्खा मेटाउन फोरमको आयोजना गरिएको बताउनुभयो । युवाको बुद्धि र कामले देशलाई सफलतातर्फ डो-याउने बताउँदै उहाँले सहकारीमार्फत उद्यमशीलतासँग जोडिन सम्पूर्ण सहकारीकर्मीलाई आह्वान गर्नुभयो । सरकारमार्फत नीतिगत सहजीकरण भए सहकारी मोडलबाट धेरै काम गर्न सकिने उहाँको भनाइ थियो ।

सहकारी महासङ्घका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले सहकारी क्षेत्रको अबको ध्यान उद्यमशीलता भएको बताउँदै अभियानलाई दिगो र मर्यादित बनाउन युवाको सक्रिय सहभागिता आवश्यक भएको धारणा राख्नुभयो । सहकारी क्षेत्रमा करिब ३० प्रतिशत युवा सहभागिता रहेको आँकडा प्रस्तुत गर्दै युवा सहभागिताले नै सहकारीलाई मर्यादित र प्रविधिमैत्री बनाउने दाबी उहाँले गर्नुभयो । सहकारी अब नवीनतम प्रविधिसँग जोडिनुपर्ने भन्दै उहाँले भन्नुभयो, “त्यसका लागि युवाको आवश्यकता हुन्छ किन कि उनीहरू सिर्जनशील, नवप्रवर्तनमुखी र जोखिम बहन गर्न सक्छन् । ” शनिबारसम्म चल्ने सम्मेलनमा सहकारी, युवा र उद्यमशीलताका विभिन्न विषयमा एक दर्जन कार्यपत्र प्रस्तुत हुने आयोजक संस्थाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?