logo
२०८१ बैशाख ६ बिहीवार



धनुषामा चैते धानको उत्पादन क्षेत्र बढ्दै

अर्थ |
समाज |


धनुषामा चैते धानको उत्पादन क्षेत्र बढ्दै
धनुषास्थित पर्वताका किसान चैत धान रोप्न खेत तयारी गर्नुहुँदै । तस्बिर– विजयकुमार साह



विजयकुमार साह
ढल्केवर, चैत २६ गते । धनुषामा यस वर्ष चैते धान उत्पादनमा वृद्धि हुने भएको छ । सिँचाइको उपयुक्त व्यवस्था तथा अनुदानमा धानको बीउ उपलब्ध गराएपछि जिल्लामा गत वर्षको तुलनामा यस वर्ष चैते धान उत्पादनमा वृद्धि हुने भएको हो ।

चैते धान उत्पादनका लागि उर्वरभूमि मानिएको जिल्लाको उत्तरी क्षेत्र मिथिला नगरपालिका–११ तुलसीमा समेत यसपाली दोब्बर क्षेत्रफलमा चैते धान समयमै रोपिएको छ । फागुन महिनाको अन्तिम सातादेखि रोपाइँ सुरु गर्नुभएको यहाँका किसानले चैत महिनाको तेस्रो सातामै चैते धान रोपाइँ सम्पन्न गर्नुभएको छ ।

रातु नदीबाट कुलोमार्फत यहाँका किसानले चैते धान समयमै रोपी सिध्याएको स्थानीय किसान प्रेमबहादुर कार्कीले बताउनुभयो । सिँचाईको प्रयाप्त सुविधा नभएपनि बाह्रौँ महिना पानी बगिरहने रातु नदीबाट कुलोमार्फत चुरे, बाहुनमारा, बिस्मवरमा चैते धान रोपिएको उहाँले जानकारी दिनुभयो ।

मिथिला नगरपालिकाका कृषि शाखा प्रमुख सञ्जयकुमार महताले चुरे, बाहुनमारा र विस्मरमा गरी करिब २० हेक्टर क्षेत्रफलमा चैते धान रोपिएको बताउनुभयो । उहाँले अघिल्ला वर्षहरुको तुलनामा यसपाली बढी क्षेत्रफलमा चैते धान रोपिएको पनि भन्नुभयो । अधिल्लो वर्ष १० देखि १२ हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको थियो । चैते धान खेतीमा वृद्धि ल्याउन नगरपालिकाले ५० प्रतिशत अनुदानमा उन्नतजातकोे बिउ उपलब्ध गराएको कृषि शाखा प्रमुख महताले जानकारी दिनुभयो ।

कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शङ्करप्रसाद साहले जिल्लामा चैत धान खेतीका लागि बाहुनमारा उपयुक्त स्थान रहेको बताउनुभयो । उहाँले यस अतिरिक्त क्षीरेश्वरनाथ नगरपालिकाको पर्वता, धनुषाधाम नगरपालिकाको किसानपुरलगायत सिँचाई सुविधा भएको दक्षिणी क्षेत्रमा कतैकतै मात्र चैते धान खेती हुने गरिएको जानकारी दिनुभयो ।

कतिपय स्थानमा चैते धान रोपाइँ भइरहेको र रोप्ने समय अझै बाँकी रहेकोले जिल्लामा कति हेक्टरमा चैते धान रोपियो भनेर आधारिकतरूपमा ठ्याक्कै भन्न नसकिने बताउनुहुँदै कृषि ज्ञान केन्द्रका प्रमुख साहले गएको वर्षभन्दा यसपटक चैते धान खेती हुने क्षेत्रफल बढेको भन्नुभयो ।

वर्षे धानभन्दा धेरै फल्ने भएकाले किसानको रूची चैते धान रोप्नेतर्फ बढ्दै गएको छ । वर्षे धानको तुलनामा रोग र किरा कम लाग्ने भएकाले पनि किसानले यो बालीलाई प्राथमिकता दिन थालेको छ । जिल्लाका सबै ठाउँमा सिचाँइको व्यवस्था गर्न सकियो भने चैते धान खेती धेरै बढ्ने मिथिला नगरपालिकाका कृषि प्राविधिक उमेश महतोले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?