logo
२०८१ बैशाख २० बिहीवार



सीपले दियो दामसँगै नाम

अर्थ |


सीपले दियो दामसँगै नाम


अविनाश चौधरी

धनगढी, चैत २७ गते । राजकुमार साह गहुँको छ्वालीबाट हस्तकलाका सामग्री बनाउन सिपालु हुनुहुन्छ । आफ्नै दाजुले दशैँमा दुर्गाको मूर्ति बनाउँदै गरेको देखेपछि मूर्ति बनाउन पनि सिक्नुभयो । अहिले त्यही सीपले साहको जीवनमा खुसीको रङ भरेको छ ।
धनगढी उपमहानगरपालिका–२, बैइया बेहडीका ३५ वर्षीय साहको हस्तकलासम्बन्धी कार्यले उहाँलाई नाम र दाम दुवै दिएको छ । “मैले धेरै पढ्न पाइन तर हस्तकलासम्बन्धी सीप सिकेपछि कुनै समस्या भएन,” ८ कक्षासम्मको औपचारिक शिक्षा लिनुभएका साहले भन्नुभयो ।

गहुँको छ्वालीबाट विभिन्न किसिमका सामग्री बनाउँदै आउनुभएका उहाँले सिमेन्टको मूर्ति बनाउने काममै १२ वर्ष बिताइसक्नुभएको छ । पछिल्लो समय घोडाघोडी तालमा राख्न भाले र पोथी घोडा तयार पार्नुभएको छ भने सुदूरपश्चिम प्रदेश सभाका लागि हलो जोत्दै गरेको किसानको मूर्ति बनाइरहनुभएको छ । घोडा र किसानको मूर्ति बनाएबापत डेढ/डेढ लाख रुपियाँ पारिश्रमिक पाउने सहमति गरेको साहले बताउनुभयो ।

छ्वालीको आर्ट र आफूले बनाएको मूर्ति बिक्रीका लागि साहले बैइया बेहडीमा ‘प्रिन्स ह्यान्डीक्राफ्ट एन्ड एक्वरियम’ नामक पसल सञ्चालन गर्नुभएको छ । पसलबाट छ्वालीको आर्ट विदेशमा पनि गइरहेको उहाँले बताउनुभयो । यसैगरी मूर्ति, सालिक बनाउन सुदूरपश्चिमको पहाडी जिल्लामा समेत पुग्ने गर्नुभएको छ ।

हस्तकलाका सामग्री बनाएर वर्षमा साढे पाँच लाख रुपियाँसम्म कमाइ हुने गरेको साहको भनाइ छ । पछिल्लो समय युवापुस्ता सीपभन्दा पनि स्मार्ट मोबाइलमा झुम्मिएको भन्दै साहले कुनै न कुनै सीप सबैले सिक्न आवश्यक रहेको औँल्याउनुभयो । “जमाना स्मार्ट छ तर सीप र मौलिकता छैन, सीपको महत्त्व कति छ ? त्यो बुझ्नेलाई मात्रै थाहा हुन्छ,” उहाँले भन्नुभयो ।

सीप सिकेमा गुजाराका लागि समस्या नहुने उहाँको बुझाइ छ । “सोहोर्न जान्यौँ भने धुलो र पातमा पनि पैसैपैसा छ,” साहले थप्नुभयो, “यी हेर्नुस्, गहुँको छ्वाली त्यसै खेर जान्छ । माटो त्यत्तिकै हुन्छ । त्यो सबबाट मैले पैसा कमाइरहेको छु । ”

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?