logo
२०८१ बैशाख २० बिहीवार



सहकार्य जरुरी

अर्थ |


सहकार्य जरुरी


गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत २८ गते । सभामुख अग्निप्रसाद सापकोटाले अर्थतन्त्रमा देखिएको विद्यमान समस्या समाधान गर्न उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सको ७१औँ वार्षिक साधारण सभाको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा उहाँले अतिआवश्यकीय वस्तु देशभित्रै उत्पादन हुनु समग्र अर्थतन्त्रका लागि फाइदाजनक हुने धारणा व्यक्त गर्नुभयो । अर्थतन्त्रको सङ्कट समाधानका लागि चेम्बरसहित निजी क्षेत्रका सङ्घ सङ्गठनलाई प्रोत्साहन गर्नुपर्ने विचार व्यक्त गर्दै उहाँले अर्थतन्त्रका समस्या समाधानका लागि खुला छलफल हुन जरुरी रहेको बताउनुभयो ।

अर्थतन्त्रको समस्या तत्काल सिर्जना भएको नभई कोरोना सङ्क्रमणजस्तो महाव्याधिले निम्त्याएको हुनाले यसको समाधानमा सरकार र निजी क्षेत्रको सहकार्य जरुरी हुने उहाँको भनाइ थियो । कार्यक्रममा उहाँले प्रविधिको विकाससँगै धेरै मानिसको रोजगारी पनि सङ्कटमा पर्ने भएकाले त्यस्तो अवस्थाबाट पार पाउन निजी क्षेत्रले नयाँ ढङ्गबाट तयारी गर्नुपर्ने सुझाव दिनुभयो ।  कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव शङ्करदास बैरागीले बाहिर हल्ला भएजस्तो अर्थतन्त्रको अवस्था कहालीलाग्दो नरहेको स्पष्ट पार्नुभयो । आयातको सूचकाङ्क तत्कालका लागि मात्र भएको र सबैलाई मान्य हुने तरिकाबाट सरकारले काम गरिरहेको उहाँले बताउनुभयो ।

पर्यटक आकर्षण गर्न र बैङ्किङ प्रणालीबाट विप्रेषण भित्र्याउन निजी क्षेत्रको रचनात्मक सुझावका आधारमा सरकारले काम गर्ने मुख्य सचिव बैरागीले जानकारी दिनुभयो ।नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रको पुनरुत्थानका लागि हालको पुनर्कर्जा सुविधा आगामी आर्थिक वर्षमा पनि निरन्तरता र विस्तार गर्नुपर्ने बताउनुभयो । तुलनात्मक लाभ लिन सक्ने वस्तुमा राज्य र निजी क्षेत्रको सहकार्यको आवश्यकता रहेको चर्चा गर्दै अध्यक्ष मल्लले खेत किन्नेलाई नभई खेती गर्नेलाई कर्जा दिने सरकारको नीति हुनुपर्नेमा जोड दिनुभयो ।

विश्वभर सेयर बजार लगानी आकर्षित गर्ने माध्यम भएकाले यसको प्रवद्र्धनमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । आर्थिक क्षेत्रका नीति नियम निर्माणमा सशक्त भूमिका निर्वाह गरिरहेको चेम्बरले निजी क्षेत्रको सारथिका रूपमा सरकारलाई सहयोग गरिरहेको उहाँले
जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?