logo
२०८१ बैशाख २० बिहीवार



भारतबाट मुर्रा जातको राँगा ल्याउने पहल

अर्थ |


भारतबाट मुर्रा जातको राँगा ल्याउने पहल


गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत २८ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट मुर्रा जातको राँगा किन्ने प्रस्ताव गरेको छ । नेपालमा दूध उत्पादकत्व र उत्पादन वृद्धिका लागि यो जातका राँगा ल्याउन लागेको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले हालै सम्पन्न गर्नुभएको भारत भ्रमणको क्रममा नेपालको तर्फबाट सो प्रस्ताव गरिएको कृषिमन्त्री महिन्द्रराय यादवले जानकारी दिनुभयो । अनुवांशिक स्रोतका लागि मुर्रा जातको राँगा किन्ने प्रस्ताव गरिएको हो ।

“कति सङ्ख्यामा र कति मूल्य पर्ने विषयमा अहिले केही कुरा भएको छैन, नेपालको तर्फबाट किन्ने प्रस्ताव गरिएको मात्र हो,” उहाँले भन्नुभयो । मन्त्री यादवले राँगा दिन भारत सकारात्मक रहेको र सम्भव भए चालू आर्थिक वर्षमा नभए अर्को आर्थिक वर्षमा राँगा खरिद गर्ने जानकारी दिनुभयो । कृषि मन्त्रालय स्रोतका अनुसार नेपालको तर्फबाट यसअघि नै कागजी प्रक्रिया सुरु भएको हो । सिरहाका लहान, कास्कीको पोखरा, बाँकेको नेपालगञ्जका लागि गरी ३० वटा राँगा माग गरिएको थियो ।

नेपालमा उपलब्ध विभिन्न जातका भैँसीले एक बेतमा एक हजार छ सयदेखि एक हजार सात सय लिटर दूध मात्र दिन्छन् तर मुर्रा जातको भैँसीले चार हजार लिटरभन्दा बढी दूध दिन्छ । त्यही भएर नेपालका लागि मुर्रा जातको राँगा आवश्यक रहेको मन्त्री यादवले बताउनुभयो । दूधको उत्पादकत्व र उत्पादन बढाउनकै लागि यसअघि कृषि मन्त्रालयले अमेरिकाबाट उन्नत जातका सातवटा साँढे किनेर ल्याइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?