logo
२०८१ बैशाख २० बिहीवार



लगानीमैत्री वातावरण बनाउन सुझाव

अर्थ |


लगानीमैत्री वातावरण बनाउन सुझाव


रुपन्देही समाचारदाता

रुपन्देही, चैत २८ गते । उद्यमी व्यवसायीले लगानीमैत्री वातावरण बनाउन आग्रह गरेका छन् । पछिल्लो समय अर्थतन्त्रमा विविध समस्या देखिएको भन्दै उहाँहरूले ती समस्या समाधानका लागि सरकारले बेलैमा सम्बन्धित सबै पक्षसँग छलफल गर्नुपर्ने सुझाव दिनुभएको छ । आइतबार उद्योग वाणिज्य सङ्घ रुपन्देहीले तिलोत्तमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रममा सहभागी उद्योगी व्यवसायीले अर्थतन्त्र सुधारका लागि सरकार तथा दलका नेताले कुनै चासो र चिन्ता नदेखाएको गुनासो गर्नुभयो ।

कार्यक्रममा सङ्घका सल्लाहकार पशुपति घिमिरेले भएका उद्योगधन्दा राम्रोसँग सञ्चालन गर्नसक्ने वातावरण नरहेको बताउनुभयो । सरकारले दिने अनुदानमा व्यापक दुरुपयोग र भ्रष्टाचार भएको भन्दै सरकारले दिने अनुदान उत्पादनशील क्षेत्रमा केन्द्रित गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले मुलुकलाई आत्मनिर्भर बनाउन स्वदेशी उत्पादन बढाउन र आयात प्रतिस्थापन गर्न उत्पादन क्षेत्रमा सामूहिक लगानी गर्नुपर्ने आवश्यक्ता औँल्याउनुभयो ।

सङ्घका सल्लाहकार चन्द्रमान श्रेष्ठले नेपाल सरकारले निर्यातमूलक उद्योग सञ्चालनका लागि स्थापना गरेको विशेष आर्थिक क्षेत्रमा उद्योगमैत्री वातावरण नभएका कारण सञ्चालन भइरहेका उद्योग पनि कतिबेला बन्द हुने हुन् भन्ने अवस्थामा रहेको बताउनुभयो ।
“हामी आयातमुखी छाँैं, आयातबाट आम्दानी गर्ने अर्थतन्त्रको व्यवस्था भएकाले जति लगानी गरे पनि लगानीअनुसारको उत्पादन गर्न सकिने वातावरण छैन, सरकारलाई पैसा बुझाउन जाँदा झन्झट बेहोर्नुपर्ने र कर्मचारी र दलाललाई पैसा खुवाउनुपर्ने प्रवृत्तिको अन्त्य नभएसम्म मुलुकको आर्थिक अवस्था सुधार हुँदैन,” उहाँले भन्नुभयो ।

अर्का सल्लाहकार नवराज श्रेष्ठले कोरोना महामारीका कारण लामो समय बन्द भएका उद्योग व्यवसाय तङ्ग्रिन नपाउँदै तरलताको अभाव देखिएको र यसले गर्दा बैङ्किङ क्षेत्रले कर्जा प्रवाह गर्न नसक्दा पुँजी जुटाउन समस्या भइरहेको बताउनुभयो । उहाँले सरकारी नीतिका कारण व्यापार घाटा अझै बढ्ने अवस्थामा पुगेको र देशभित्र उत्पादन हुने वस्तुको समेत निर्वाध रूपमा आयात हुन दिँदा मुलुक झन् परनिर्भर बन्दै गएको धारणा व्यक्त गर्नुभयो । सङ्घका अध्यक्ष गुणनिधि भण्डारी (माधव)ले व्यापार घाटा भयावह अवस्थामा पुगेकाले सरकारले तत्काल आयात नीतिमा परिवर्तन गर्दै आन्तरिक उत्पादनमा उच्च भन्सार दर कायम गर्न माग गर्नुभयो ।

कार्यक्रममा सङ्घका उपाध्यक्ष हरिलाल पाण्डे, कृष्णप्रसाद शर्मा, महासचिव कमल कँडेल, कोषाध्यक्ष सुरज पङ्गेनीलगायतले अर्थतन्त्र कमजोर अवस्थामा पुगेको र निर्यातको कमजोर आधार र उच्च आयातका कारण व्यापार घाटा फराकिलो हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।  

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?