logo
२०८१ बैशाख २४ सोमवार



ढल्केबरमा तरबुजाको व्यापार फस्टाउँदो

अर्थ |


ढल्केबरमा तरबुजाको व्यापार फस्टाउँदो


विजयकुमार साह
ढल्केबर, चैत २८ गते । पूर्वपश्चिम लोकमार्गअन्तर्गत धनुषाको ढल्केबरमा तरबुजाको व्यापार फस्टाएको छ । गर्मी महिना सुरु भएसँगै तरबुजाको व्यापार जिल्लामा निकै फस्टाएको हो ।

व्यापार बढेसँगै ढल्केबरमा तरबुजा पसलको सङ्ख्या पनि बढेको छ । यहाँका स्थानीय व्यापारीहरुले दुई दर्जनभन्दा बढी स्थानमा अस्थायी टहरा निर्माण गरी तरबुजाको पसल सञ्चालन गरेका छन् । तरबुजा पसलहरुमा लोकमार्गमा गुड्ने अधिकांश बस तथा निजी गाडीका यात्रु र स्थानीय ग्राहकहरुको भीड लाग्ने गरेको छ ।

ढल्केबरमा अहिले तरबुजा बिक्री केन्द्र राखेर व्यापारीहरुले दैनिक लाखौंको कारोबार गर्ने गरेको छ । मिथिला नगरपालिकाको मुख्य बजारकेन्द्रको रूपमा रहेको ढल्केवरमा बिक्री हुने तरबुजा भने भारतको उडिसा, कलकत्ता, सिलिगुडीलगायतका ठाउँहरुबाट भित्रिने गरेको छ ।

तरबुजा प्रतिकिलो ३० देखि ३५ रुपियाँ तथा प्रतिगोटाका हिसाबले बिक्री हुने गरेको छ । तरबुजा काटेको चाना भने २० देखि ३० रुपियाँमा बिक्ने गरेको ढल्केवरका तरबुजा व्यापारी बैधनाथ चौधरीले बताउनुभयो । यहाँ दैनिक १० लाख रुपियाँभन्दा बढीको कारोबार हुने गरेको उहाँले जानकारी दिनुभयो ।

होसलेल बिक्रेतासमेत रहनुभएका व्यापारी चौधरीले भारतको उडिसालगायतका राज्यबाट तरबुजा ल्याउने गरेको जानकारी दिनुभयो । भारतबाट ल्याउँदा तरबुजा खरिदबाहेक ढुवानीमा मात्रै चारदेखि पाँच लाख रुपियाँ खर्च लाग्ने हुँदा स्थानीय उत्पादनको तुलनामा केही महँगो भएको उहाँले बताउनुभयो ।

गर्मी मौसममा सर्वाधिक बिक्री हुने फलको रूपमा चिनिएको तरबुजा धनुषाको पूर्वी क्षेत्र कमला नदी छेउका गाउँहरुमा उत्पादन हुने गरेको भए पनि यहाँको उत्पादन वैशाख महिनाको दोस्रो–तेस्रो सातापछि मात्र बजारमा आउने गरेको छ । तरबुजाको कारोबार भने चैतको पहिलो साताबाटै सुरु हुन्छ । ग्राहकको मागलाई परिपूर्ति गर्नकै लागि भए पनि भारतबाट आयात गर्ने गरेको व्यापारी चौधरीले भन्नुभयो ।

एक दशकदेखि सिजनमा तरबुजाको व्यापार गर्दै आउनुभएका अर्का व्यापारी पञ्चु साहका अनुसार अहिले जनकपुर, विरगञ्ज, काठमाडौं र पोखरालगायत सहरका व्यापारी तथा खुद्रा ग्राहकले यहीँबाट खरिद गरेर लैजान गरेको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?