logo
२०८१ बैशाख २१ शुक्रवार



बढेन कृषि बीमामा किसानको आकर्षण

अर्थ |


बढेन कृषि बीमामा किसानको आकर्षण


राजु लामिछाने
रुकुम (पश्चिम), चैत २८ गते । कृषि तथा पशु बीमामा रुकुम पश्चिमका किसानको आर्कषण बढ्न सकेको छैन । स्थानीय तहले किसानलाई कृषि तथा पशु बीमामा आकर्षण गर्नको लागि विभिन्न नीति तथा कार्यक्रम सञ्चालन गरे पनि किसानको आकर्षण भने बढेको छैन ।

मुसिकोटमा आयोजित कृषि तथा पशु बीमा सम्बन्धिको छलफल कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले कृषि तथा पशु बीमा कार्यक्रम प्रभावकारी नहुनु दुःखद भएको बताउनुभयो । कृषि तथा पशु बीमा गराउने बीमा कम्पनी, स्थानीय सरकारको समन्वय नभएकै कारण किसान बीमा कार्यक्रममा आकर्षण हुन नसकेको उहाँको भनाइ छ । बीमा कार्यक्रमलाई प्रभावकारी गराउन पालिकाहरुको ठूलो भूमिका रहेको भन्दै प्रमुख शर्माले सबै पालिकाले बीमाको विषयमा किसानलाई प्रष्ट रुपमा बुझाउन सक्नुपर्ने बताउनुभयो । किसानका लागि महत्वपूर्ण भएको कृषि तथा पशु बीमाबारे किसानलाई जानकारी नगराइनु गम्भीर विषय भएको उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा समन्वय प्रमुख शर्माले स्थानीय तह, स्वय बीमा कम्पनी र यसका अभियान्ता बताउनेहरुले नै बीमाका बारेमा किसानलाई जानकारी नगराएकाप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । किसानको हितमा रहेको बीमाबारे व्यापक प्रचार गर्नुपर्ने र सबै किसानलाई बीमामा आबद्ध गराउने गरी कार्यक्रम बनाउनुपर्नेमा उहाँको जोड छ ।

कार्यक्रममा सहभागिहरुले बीमाको बारेमा प्रचारप्रसार नभएको, भएपनि दाबी भुक्तानी झन्झटिलो भएको बताएका थिए । जिल्लामा तीन वर्षदेखि विभिन्न बीमा कम्पनीले कृषि तथा पशु बीमामा काम गर्दै आएका छन् । तीन वर्षको अवधिमा कृषि तथा पशु बीमा गर्ने किसानको सङ्ख्या भने न्यून छ । जिल्लाको मुसिकोट नगरपालिकाले पशु बीमाको लागि अनुदान दिएकाले मुसीकोटका केहीँ किसानले पशु बीमा गरेको भएपनि जिल्लाको अन्य पालिकाहरुमा भने कृषि तथा पशु बीमा गराउनेको सङ्ख्या न्यून छ । मुसिकोट नगरपालिकाले तीन आर्थिक वर्षमा कृषि तथा पशु बीमाको लागि विभिन्न नीति, कार्यक्रम तथा बजेट ल्याएको थियो ।

पहिलो आर्थिक वर्षमा किसानलाई ७५ प्रतिशत अनुदान दिएपछि किसानले बीमा गरेको तर पछिल्ला वर्षहरुमा भने त्यो सङ्ख्या घट्दै गएको नगरपालिका पशु सेवा शाखा प्रमुख सरस्वती सापकोटाले बताउनुभयो । सरकारले अनुदान दिएका किसान बाहेक अरु किसानले कृषि तथा पशु बीमा नगरेको उहाँको भनाइ छ ।

किसानले पाउनुपर्ने बीमा हक दाबी रकम पाउने प्रक्रिया निकै झन्जटिलो भएका कारण पनि बीमाप्रति किसानको आकर्षण कम भएको पशुसेवा शाखा प्रमुख सापकोटाले जानकारी दिनुभयो ।

पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख ज्ञानुकुमार शर्माले किसानले कुनै पनि पशु खरिद गर्दा लाग्ने लागतभन्दा कम रकममा बीमा गर्दा पनि समस्या आएको बताउनुभयो । किसानहरुलाई बाली तथा पशुको बीमा गर्न पटक–पटक आग्रह गर्दा पनि किसान बीमा कार्यक्रममा आकर्षण नभएको उहाँको भनाइ छ ।

कार्यक्रममा एनएलजी कम्पनीका केन्द्रीय कार्यालय प्रमुख समिरकुमार श्रेष्ठले कम्पनी सकेसम्म सबै किसानसम्म पुग्ने गरी काम गर्ने बताउनुभयो । अबको दाबी भुक्तानीमा पहिलाको जस्तो झन्जटिलो नहुने गरी कार्यविधि र प्रणाली विकास भएको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?