logo
२०८१ बैशाख २२ शनिवार



अलैँचीमा कीरा लाग्दा किसानलाई घाटा

अर्थ |


अलैँचीमा कीरा लाग्दा किसानलाई घाटा


मुसीकोट समाचारदाता

रुकुम पश्चिम, चैत २९ गते । रुकुम पश्चिमका किसानले व्यावसायिक रूपमा सुरु गरेको अलैँची खेतीबाट घाटा बेहोर्नुपरेको छ । अलैँचीमा लाग्ने रोग र प्राविधिक ज्ञानको कमी हुँदा अलैँची खेतीबाट किसानले घाटा बेहोर्नुपरेको हो । थोरै मेहनतले पनि मनग्य आम्दानी गर्न सकिने भएपछि व्यावसायिक अलैँची खेतीतर्फ आकर्षित भएका किसान रोग तथा कीरा लाग्न थालेपछि चिन्तित बनेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका र मुसीकोट नगरपालिकाको विभिन्न ठाउँमा किसानले ओसिलो जमिनमा सुरु गरिएको व्यावसायिक अलैँचीबाट घाटा भएको बताउँदै आएका छन् । अलैँचीमा लाग्ने छिर्के रोग तथा अन्य कारण अलैँचीका बोट र पात सुक्दै गएको त्रिवेणी गाउँपालिका–७ का किसान उज्ज्वल खड्काको भनाइ छ ।

स्थानीय सरकारबाट प्राविधिक आएर रोग तथा कीराको उपचारमा सहयोगको अपेक्षा राखेको अर्का किसान दलबहादुर ओलीले बताउनुभयो । उहाँले गाउँका थुप्रै किसानले लगाएको यस पटकको अलैँची खेतीमा कीरा लागेर क्षति पुगेको जानकारी दिनुभयो ।
अलैँची खेतीका लागि जिल्लाका छवटै स्थानीय तहको हावापानी उपयुक्त मानिन्छ ।

यसकारण पनि यहाँको माटो र हावापानी अनुसार स्थानीय तहस्तरका सबै कृषि शाखाले अलैँची खेतीका लागि किसानलाई अनुदानसमेत दिँदै आएका छन् । तर, किसानले लगाएको अलैँची खेती नोक्सान भएर जाने समस्याका कारण जिल्लाभरका व्यावसायिक अलैँची किसान मर्कामा परेका छन् । उत्पादन भएको अलैँचीलगायत अन्य कृषिजन्य वस्तुको निर्यात तथा सहज बिक्रीका लागि समस्या भएको किसानको गुनासो छ ।

मुसीकोट नगरपालिका उपप्रमुख प्रेमकुमारी सुनारले अलैँची खेतीलगायत किसानले उत्पादन गरेका मसलाजन्य तथा कृषि उत्पादनको सहज निर्यात तथा समस्यामा स्थानीय सरकार लागिपरेको बताउनुहुन्छ । उहाँले किसानका उत्पादन खेर नजाने गरी उद्योग तथा बजारीकरणमा सहयोग गरेको उल्लेख गर्नुभयो ।रुकुम पश्चिममा किसानलाई लक्षित गर्दै विभिन्न स्थानीय तहमा स्थापना भएका केही मसलाजन्य उद्योगहरू सञ्चालनमा आएर हाल बन्द भएका छन् । यसबाट जिल्लाका व्यावसायिक किसान समस्यामा परेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?