logo
२०८१ बैशाख २१ शुक्रवार



सशक्तीकरणका लागि लघुवित्त

अर्थ |


सशक्तीकरणका लागि लघुवित्त


गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत २९ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न क्षेत्रमा रहेका लघुवित्तले स्थानीय उत्पादनमा वृद्धि गरी स्थानीय स्तरमा रोजगारी सिर्जना गरेको बताउनुभएको छ । सोमबारदेखि काठमाडौँमा सुरु भएको तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनमा शुभकामना सन्देश पठाएर प्रधानमन्त्री देउवाले स्थानीय तहका नागरिकलाई बचत र लगानीमा प्रोत्साहन गर्दै आयआर्जन वृद्धि गरेर मुलुकको आर्थिक अवस्थालाई चलायमान गराउन लघुवित्तले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको धारणा व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, “देशभर रहेका लघुवित्तले स्थानीय उत्पादनलाई आधुनिकीकरण र बजारीकरण गर्नमा समेत महत्त्वपूर्ण सहयोग पु-याएका छन् । ”

सोमबारदेखि काठमाडौँमा सुरु भएको तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनको उद्घाटन गर्दै नेपाल राष्ट्र बैङ्कका कायम मुकायम गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले लघुवित्त ग्रामीण विकासको मुख्य आधार भएको बताउनुभयो । उहाँले लघुवित्तले गरिब र लक्षित समुदायको आर्थिक पुनरुत्थान गर्न, लैङ्गिक असमानतालाई न्यून गर्न, महिला सशक्तीकरणलाई टेवा दिन र आर्थिक असमानता कम गर्न मद्दत गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “लघुवित्त वित्तीय संस्थाले ग्रामीण विपन्न वर्गका महिलालाई उत्पादनशील क्रियाकलापमा संलग्न गराई रोजगारी सिर्जनालगायत ग्रामीण महिलाको उत्थानमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । ” समावेशी आर्थिक विकासका लागि नेपालमा धेरै प्रयास भइरहे पनि कुल जनसङ्ख्याको करिब १८ प्रतिशत अझै गरिबीको रेखामुनि रहेको कामु गभर्नर तिम्सिनाको भनाइ छ ।

अझै पनि २० प्रतिशत जनसङ्ख्या औपचारिक वित्तीय पहुँचभन्दा बाहिर रहेको स्थितिमा लघुवित्त वित्तीय संस्थालाई गरिबी निवारण, आर्थिक समावेशीकरण र समग्र आर्थिक विकासका लागि प्रभावकारी साधन मानिएको उहाँले बताउनुभयो ।नेपालमा लघुवित्तको अभ्यास सुरु भएको साढे चार दशकभन्दा बढी भइसकेको भन्दै उहाँले भन्नुभयो, “यसबीच गरिबी निवारणका धेरै पहल सुरु गरिए पनि लघुवित्त कार्यक्रम मात्र गरिबी निवारण र ग्रामीण विकासको मुख्य आधार भएको छ । ”

कामु गभर्नर तिम्सिनाले लघुवित्त वित्तीय संस्थाको सेवा देशका ७७ वटै जिल्लामा पुगेको र सञ्चालनमा आएका शाखाको सङ्ख्या चार हजार ९८५ रहेको जानकारी दिँदै २०७८ पुस मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाको कुल सदस्य सङ्ख्या ५६ लाख २२ हजार रहेकोजानकारी दिनुभयो । कुल सदस्यमध्ये पुरुषको सङ्ख्या एक लाख ५१ हजार र महिलाको सङ्ख्या भने ५४ लाख ७१ हजार रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “लघुवित्त वित्तीय संस्थाबाट ऋण लिने सदस्यको सङ्ख्या ३१ लाख ७१ हजार रहेको छ, जसअन्तर्गत पुरुषको सङ्ख्या ८३ हजार छ भने महिलाको सङ्ख्या ३० लाख ८८ हजार रहेको छ । ”आयोजक समितिका अध्यक्ष शङ्करमान श्रेष्ठले देशमा अझै १८ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको तथ्याङ्क प्रस्तुत गर्दै लघुवित्तले गरिबीलाई शून्यमा झार्न सक्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नाफा कमाउने होडमा लघुवित्त संस्था लागेको देखिन्छ । यो लघुवित्त संस्थाको लक्ष्य र उद्देश्य होइन । लघुवित्तले गरिबीलाई शून्यमा झार्न सक्नुपर्छ । ”

अध्यक्ष श्रेष्ठले एउटै व्यक्ति धेरै लघुवित्त संस्थामा सदस्य भएको र कर्जा लिएको पाइएको चर्चा गर्दै यस्तो विकृति रोक्न सबैले प्रयास गर्नुपर्ने बताउनुभयो ।स्वाबलम्बन विकास केन्द्रको संयोजनमा मङ्गलबारसम्म चल्ने सम्मेलनमा लघुवित्त कार्यक्रम सञ्चालन गरेका दुई सयवटा संस्थाबाट छ सय सदस्य तथा संस्था प्रतिनिधिको सहभागिता छ । सोही अवसरमा कार्यक्रम उपसमिति संयोजक ज्योतिचन्द्र ओझाले लघुवित्तको मुख्य लक्ष्य गरिबी निवारण भएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?