logo
२०८१ बैशाख २१ शुक्रवार



कर छुटपछि बढ्यो व्यापार

अर्थ |


कर छुटपछि बढ्यो व्यापार


विजयकुमार साह

ढल्केबर, चैत २९ गते । धनुषाको ढल्केबरस्थित कृषि उपज थोक बजार व्यवस्थापन समितिले बिक्री तथा निकासीमा कर छुट गरेपछि क्रेता र बिक्रेताको भीड बढेको छ ।सस्तो मूल्यमा हरियो तरकारी तथा फलफूल पाइने बजारका रूपमा पहिचान बनाएको यो बजारमा बजार व्यवस्थापन समितिले तीन महिनाअघिदेखि बिक्री कर र निकासी कर लगाएको थियो । बजार व्यवस्थापन समितिले यसअघि किसानसँग तरकारी तथा फलफूल बिक्री गरेबापतको कर र खरिदकर्ता व्यापारीसँग निकासी कर लिँदै आएको थियो । यो कर अहिले छुट गरिएको हो ।

मिथिला नगरपालिका–६, ढल्केबरमा रहेको महेन्द्र माध्यमिक विद्यालयलाई सहयोग गर्न र आफ्नै आयस्रोत बढाउन बजार ठेक्का लगाउँदै आएको थियो । यो बजार गत वर्ष २२ लाख रुपियाँमा एक वर्षका लागि ठेक्का लगाइएको थियो ।
बजार ठेकदारले तरकारी बिक्री गर्न आउने किसानसँग एक ढाकी तरकारी बिक्री गरेको १० देखि २० रुपियाँ र व्यापारीसँग एक पिकअप गाडी तरकारी निकासी गरेको एक हजार पाँच सयदेखि दुई हजार रुपियाँसम्म असुल्ने गरेको थियो । यसरी कर उठाउन थालिएपछि किसान र व्यापारी आउन कम भएको थियो ।

कृषि उपज थोक बजार व्यवस्थापन समितिका बजार व्यवस्थापक शम्भु दासले किसान र व्यापारीसँग लिँदै आएको सबै प्रकारको कर छुट गरेको बताउनुभयो । कर छुट गरेपछि किसान र व्यापारी दुवैलाई फाइदा पुगेको उहाँले जानकारी दिनुभयो ।
कर छुटपछि अहिले यहाँ लाग्ने प्रत्येक बजारको दिन पाँच हजार किसान आआफ्नो उत्पादन बिक्रीका लागि तथा एक हजार पाँच सयको हाराहारीमा व्यापारी खरिद गर्न आउने गरेका छन् । आइतबार, बुधबार र शुक्रबार गरी हप्ताको तीन दिन लाग्ने यस बजारमा स्थानीयस्तरमा उत्पादन भएको तरकारी तथा फलफूल सस्तो मूल्यमा पाइने हुँदा काठमाडौँ, पोखरा, सिन्धुली, जनकपुरलगायत ठूल्ठूला सहरका व्यापारी यहाँ आउने गरेको व्यवस्थापक दासले भन्नुभयो ।

ढल्केबर बजारमा गत आर्थिक वर्षमा ३५ करोड २५ लाख ७१ हजार रुपियाँ मुख्य बराबरको चार हजार ८१५ मेट्रिक टन तरकारी खरिद बिक्री भएको थियो । यस्तै चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्मा १६ करोड २८ लाख ८८ हजार रुपियाँको दुई हजार ९३७ मेट्रिक टन तरकार तथा फलफूल किनबेच भएको थियो । बेङ्गाडावर, पुष्पवलपु र नकटाझिजलगायत दर्जनौँ गाउँका किसानले उत्पादन गरेको तरकारी तथा फलफूल यही बजारबाट बिक्री हुने गरेको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?