logo
२०८० चैत्र १६ शुक्रवार



छ रूपियाँमा एक छाक खाना

अर्थ |


छ रूपियाँमा एक छाक खाना


काठमाडौँ, चैत ३० गते । खाना पकाउन विद्युतीय पद्धति प्रयोग गरेमा परम्परागत र एलपी ग्यासभन्दा आधा सस्तो पर्ने एक अध्ययनले देखाएको छ । जनताका लागि ऊर्जा तथा वातावरण विकास संस्था (पीडा)ले मङ्गलबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार पाँच जनाको परिवारको एक छाक खाना इलेक्ट्रिक प्रेसर कुकरमा पकाउँदा जम्मा छ रुपियाँ २७ पैसा मात्र खर्च लाग्छ ।

नेपालमा विद्युत् उत्पादन पर्याप्त हुँदै जाँदा यसको खपत कसरी बढाउने भन्ने बहस चलिरहेका समयमा भन्सामा बिजुली खपत प्रवद्र्धन कसरी गर्ने भन्दै पीडालगायतका विभिन्न सामाजिक संस्थाले छ महिना लगाएर देशका विभिन्न क्षेत्रमा पुगेर भान्साको अध्ययन गरेका थिए । स्थानीय जनतालाई इन्डक्सन, इन्फ्रारेड इलेक्ट्रिक प्रेसर कुकरजस्ता सामग्रीदेखि ऊर्जा मापनका साधन पनि दिइएको थियो । सोलुखुम्बु, तेमाल, बनेपा, कटहरी र ललितपुरको महाकाल गाउँपालिकामा यस्तो अध्ययन गरिएको थियो । स्थानीयको भान्सा अनुगमनका लागि भान्सा डायरी विधिमार्फत तथ्याङ्क सङ्कलन गरिएको थियो । पीडाले सँगै ल्याब परीक्षण विधि पनि अपनाएको थियो ।

अध्ययनअनुसार पाँच जनाको परिवारका लागि दाल, भात र मासु पकाउँदा दाउरामा १३ रुपियाँ २९ पैसा, एलपी ग्यासमा १३ रुपियाँ ७८ पैसा, इन्डक्सनमा ११ रुपियाँ ७७ पैसा, इन्फ्रारेडमा १२ रुपियाँ ६० पैसा ऊर्जा लागत लाग्ने देखिएको छ ।यसरी अध्ययन गर्दा दाउरा तथा गुइँठाजस्ता परम्परागत र निःशुल्क ऊर्जा स्रोतलाई सङ्कलन गर्न लाग्ने समयको ज्यालाका आधारमा प्रतिकिलो छ रुपियाँ तीन पैसा तय गरिएको थियो भने बिजुलीको औसतमा १० रुपियाँ प्रतियुनिट मानिएको थियो । तत्कालीन समयमा बजार मूल्यका आधारमा एलपी ग्यासलाई प्रतिसिलिन्डर एक हजार ४४० रुपियाँ मानिएको थियो ।

यद्यपि, अहिले यसको बजार मूल्य एक हजार छ सय रुपियाँ पुगेको छ भने नेपाल आयल निगमको लागत दुई हजार ५३२ रुपियाँ पर्छ । अनुदानरहित ग्यासको हिसाब गर्दा यो रकम दुई हजार चार सय रुपियाँ २२ पैसा हुन आउँछ । यसअनुसार इलेक्ट्रिक प्रेसर कुकरभन्दा एलपी ग्यास चार गुणा महँगो पर्न आउँछ । एक हजार छ सयकै अनुपातमा हिसाब गर्दा यो रकम एक हजार पाँच सय रुपियाँ ३१ पैसा पर्न आउँछ ।

पीडाका कार्यकारी निर्देशक विराज गौतमका अनुसार खाना पकाउन अब उत्तम विकल्प इलेक्ट्रिक प्रेसर कुकर हो । “अब हरेक परिवारको भान्सा विद्युतीय बनाउनु पर्छ, आर्थिक लागत, पर्यावरण र जनस्वास्थ्यको रक्षाका लागि बिजुली भन्सा चाहिन्छ,” उहाँले भन्नुभयो, अब सरकार तथा सरोकारवाला निकायले हरेक भान्सामा इलेक्ट्रिक प्रेसर कुकर पु¥याउने कार्यक्रम ल्याउनुपर्छ । ”

भान्सा विद्युतीय बनाउँदा भान्साको काममा पुरुष सदस्यको समेत योगदान बढेको पाइएको छ । कहिल्यै भान्साका काम नगर्ने घरका पुरुषहरूले अध्ययन अवधिभर १० प्रतिशत भान्सा सम्हालेको पाइएको अध्ययनकर्ता अर्को संस्था विनरक इन्टरनेसनलका गोविन्द खनालले जानकारी दिनुभयो ।

कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारीले स्वच्छ ऊर्जा खपत विस्तारमा व्यापक रूपमा काम गर्ने बेला आएको बताउनुभयो । केन्द्रले स्वच्छ ऊर्जा खपत प्रवद्र्धनका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन लागिएको बताउनुभयो । नेपालमा विद्युतीय भान्सा प्रवद्र्धनका लागि सहयोग पुग्ने गरी पीडाले नेपाल ई कुक बुक पनि सार्वजनिक गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?