logo
२०८१ बैशाख १७ सोमवार



११ महिनामा १२ खर्ब व्यापार घाटा

अर्थ |


११ महिनामा १२ खर्ब व्यापार घाटा


विश्वास रेग्मी

काठमाडौँ, असार १३ गते । अन्तर्राष्ट्रिय व्यापारमा हुने घाटा नियमित रूपमा चुलिने क्रममा रहेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७५/७६ को ११ महिनासम्मको अन्तर्राष्ट्रिय व्यापार तथ्याङ्क अनुसार व्यापार घाटा १२ खर्ब ११ अर्ब ९६ करोड रुपियाँ पुगेको छ । यो अघिल्लो आवको ११ महिनाको तुलनामा १७.४० प्रतिशतले बढी हो । अघिल्लो आवमा व्यापार घाटा १० खर्ब ३२ अर्ब रुपियाँ पुगेको थियो । 
विभागका अनुसार वैशाखसम्म नेपालको अन्तर्राष्ट्रिय व्यापारको आकार करिब १३ खर्ब ८७ अर्ब रुपियाँ पुगेको छ । त्यसमध्ये करिब १३ खर्ब रुपियाँको आयात भएको छ । निर्यातको आकार ८७ अर्ब ८३ करोड रुपियाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा आयात १७.४५ र निर्यात १८.१८ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ । यद्यपि अन्तर्राष्ट्रिय व्यापारमा निर्यातको हिस्सा भने बढेको देखिँदैन । अघिल्लो आवजस्तै कुल व्यापारमा निर्यातको हिस्सा समान अर्थात् ६.३ प्रतिशत मात्र छ । 
अन्तर्राष्ट्रिय व्यापार साझेदारमध्ये सबैभन्दा ठूलो हिस्सा ओगट्ने भारतसँगको व्यापार घाटा मात्रै सात खर्ब ८५ अर्ब रुपियाँ पुगेको छ । भारतबाट नेपालले ११ महिनामा आठ खर्ब ४१ अर्ब रुपियाँको आयात र ५६ अर्ब ५९ करोड रुपियाँको निर्यात गरेको छ । दोस्रोमा रहेको चीनबाट एक खर्ब ८६ अर्बको आयात भएकोमा एक अर्ब ९६ करोड रुपियाँको मात्र निर्यात भई एक खर्ब ८४ अर्बको व्यापार घाटामा रहेको अवस्था छ । व्यापार साझेदारका रूपमा युनाइटेड अरब इमिरेट्स (दुबई) तेस्रो, फ्रान्स चौथो र इन्डोनेसिया पाँचौँ स्थानमा छन् । नेपालले ११ महिनासम्म सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात गरेको छ । पेट्रोलियममध्ये एक खर्ब आठ अर्ब रुपियाँको डिजेल, ३२ अर्ब ४९ करोडको पेट्रोल र ३२ अर्ब ७७ करोड रुपियाँको एलपी ग्यास आयात भएको छ । निर्याततर्फ सबैभन्दा बढी खाने तेल आठ अर्ब ७० करोड रुपियाँ रहेको छ । त्यसपछि तीन अर्ब १२ करोड रुपियाँको जुसको निर्यात भएको तथ्याङ्क छ ।

४६ देशमा निर्यात शून्य
विभागको तथ्याङ्कमा उल्लेख गरिएका १५५ देशमध्ये ४६ देशसँग नेपालको निर्यात शून्य छ । यसबाहेक अन्य सबै देशसँग दोहोरो व्यापार रहे पनि ती देशसँग आयातको मात्र व्यापार रहेको छ । अर्थात् ती सबै देशसँगको व्यापार पूर्ण रूपमा घाटामा रहेको छ । 
विभागका अनुसार नेपालको सबैभन्दा ठूलो व्यापार साझेदारमध्येको दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनासँग निर्यात ११ महिनासम्म शून्य छ । अर्जेन्टिनाबाट नेपालले यस अवधिमा करिब १० अर्ब रुपियाँको आयात गरेको छ । अर्जेन्टिनाबाहेक तुर्कमेनिस्तान, पाराग्वे, ग्वाटेमाला, पपुवा न्यूगिनी, जोर्डन, गेबोन, नाइजेरिया, मोजाम्बिक, बेलारुस, कोस्टारिका, डोमिनिक रिपब्लिकमा नेपालको निर्यात शून्य छ । त्यस्तै नामिबिया, मोल्दोभा, निकारागुआ, पोर्टे रिको, भेनेजुएला, कोमोरोस, मलावी, ट्युनिसिया, अमेरिकन सामोअ, सान मारिनो, इथियोपिया, आइजल अफ म्यान, क्यामरुन, इराक, सर्बिया, घाना, सियरा लिओन, सेन्ट हेलेना, भ्याटिकन, होन्डुरस, किरिबाटी, हाइटी, ट्रिनिडाड एन्ड टोबागो, ब्रिटिस इन्यियन ओसन क्षेत्र, जमैका, बार्बाडोस, टोकेलाउ, मौरिटानिया, केप भर्डे, साओ टोम एन्ड प्रिन्सिपे, जाम्बिया, कोसोभो, सिसेल्स र अल्बानियासँग निर्यातको अवस्था शून्य रहेको छ ।

२२ देशसँगको व्यापार नाफामा
मुलुकको समग्र अन्तर्राष्ट्रिय व्यापार घाटामा रहे पनि केही देशसँगको व्यापार भने नाफामा देखिएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालू आवको ११ महिनासम्म नेपालले १५५ वटा देशसँग व्यापार गरेको छ । यसबाहेक अन्य केही देश पनि छन्, जसको नाम भने उल्लेख छैन । सबैभन्दा धेरै नाफा भने नेपालमा खासै नाम नसुनिने सेन्ट्रल अफ्रिकन रिपब्लिक भन्ने मुलुकसँग छ । विभागका अनुसार नेपालले उक्त मुलुकमा १७ लाख १९ हजार रुपियाँ आयात गरेकोमा २७ करोड ७५ लाख रुपियाँ निर्यात गरेको छ । यस हिसाबले २७ करोड ५८ लाख रुपियाँ उक्त मुलुकसँग नेपालको व्यापार नाफामा देखिन्छ । 
युरोपियन मुलुक नर्वे, स्लोभेनियादेखि अफगानिस्तान, इस्टोनिया, आइसल्यान्ड, एल साल्भाडोर, मोनाकोसँगको व्यापार पनि नाफामा देखिएको छ । यसबाहेक मौरिसस, न्यू क्यालेडोनिया, रुवान्डा, कजाकस्तान, बर्मुडा, यमन, अजरबैजान, बहमास, गिनिया, अर्मेनिया, अल्जेरिया, एन्टिगुआ एन्ड बर्बुडा र पानामासँगको नेपालको व्यापार पनि नाफामा रहेको विभागले उल्लेख गरेको छ । विभागको तथ्याङ्क अनुसार नाफामा रहे पनि त्यसको आकार भने निकै कम छ । नाफामा रहेका सबै मुलुकसँगको नाफा एक अर्ब रुपियाँभन्दा तल नै छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?