logo
२०८१ बैशाख १५ शनिवार



स्नातकोत्तर उत्तीर्ण हरिसिंह जमाडीमा बालुवा बटुल्दै

शिक्षा |


स्नातकोत्तर उत्तीर्ण हरिसिंह जमाडीमा बालुवा बटुल्दै


गोकर्ण दयाल– 
बैतडी, साउन १४ गते । जमाडी नदीमा यति बेला साउने भेल उर्लेको छ । भेलसँगै हरिसिंह कार्कीको मनमा बेरोजगारीको पीडा उर्लेको छ ।

स्नातकोत्तर उत्तीर्ण गरेर कतै रोजगारी नपाएपछि छाक टार्न कार्की जमाडीको वालुवा बटुलेर जीवन निर्वाह गरिरहनु भएको छ ।

जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं. ६ पञ्ज्युनयाँका कार्कीले शिक्षा तथा समाजशास्त्रमा स्नातकोत्तर (एमएड) गर्नुभएको छ ।

कैलाली बुहुमुखी क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह (आईए) सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगरबाट स्नातक (बिए) र र एकवर्षे विएडपछि शिक्षा संकायमा स्नातकोत्तर ( एमएड) गर्नुभएको हो ।

पढाई सकेर रोजगारी खोज्न भौतारिंदै कतै रोजगारी नमिलेपछि नदी किनारमा वालुवा चाल्न आईपुगेको उहाँले आफ्नो पीडा सुनाउनुभयो ।  

वि.सं. २०७० देखि २०७२ सम्म दुईवर्ष गोकुलेश्वर बुहुुमुखी क्याम्पसमा शिक्षा र मनोविज्ञान पढाए पनि क्याम्पसले पारिश्रमिक नदिएपछि पढाउन छोडेर शिक्षक सेवा आयोगको तयारीमा लागेको उहाँले बताउनुभयो ।

शिक्षक सेवा आयोगमा प्रावि, निमावि र माविमा परीक्षा दिए पनि सफल हुन नसकेपछि वालुवा खोज्दै जमाडीमा आईपुगेको बताउनुभयो ।

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन ४२ वर्ष पुगेकाले ऋण नपाएको कार्कीको गुनासो छ ।

कार्कीले भन्नुभयो, “डिग्रि पढेर पनि कतै रोजगारी मिलेन । खेतमा कमाएर खान एक महिना पनि खान पुग्दैन । सबै ठाउँबाट निराश भएपछि परिवार पाल्न नदीको वालुवा चाल्दै छाक टार्ने गरेको छु ।”

कार्कीको घरमा दुई छोरी, एक छोरा र एक श्रीमति हुनुुहुन्छ ।

अस्थायी शिक्षक दरबन्दीमा शिक्षण गर्दै आईरहनु भएका उहाँकी धर्मपत्नी पार्वती कार्कीको समेत यो वर्षदेखि रोजगारी छुटेको छ ।

पार्वती शिक्षक सेवा आयोगको आन्तरिक प्रतिस्पर्धामा फेल भएपछि कार्की परिवारको आम्दानीको बाटो बन्द भएको छ । 

जमाडी नदी किनारमा वालुवा थुपार्दै गरेको अवस्थामा भेटिनुभएका कार्कीले भन्नुभयो– “परिवार पाल्ने अन्तिम विकल्प भनेको अब यही जमाडी नदी हो ।

नदीले वालुवा बगाउँछ । मैले यही नदीमा आँसु र पसिना बगाउँदैछु । वालुवा छानेर विक्री गर्छु । आएको पैसाले केटाकेटीलाई कापी, कलम र घरका लागि नुन, तेल र चामल किन्छु ।

”उहाँका अनुसार नदीबाट राम्रो वालुवा छानेर विक्री भए पाँचसय रुपियाँ कमाई हुन्छ । तर एक ट्रली वालुवा संकलन गर्न चारदिन लाग्छ, एक ट्रली वालुवाको मूल्य दुईहजार पाँचसय रुपियाँ पर्छ ।

बेरोजगार भएर वालुवा चल्दै गरेको अवस्थामा भेटिनु भएका हरिसिंह कार्कीको बारेमा थाहा पाएर दोगडाकेदार गाउँपालिकाले उहाँलाई व्यवसाय गर्न चाहे एकलाख रुपियाँ सहयोग गर्ने बताएको छ ।

गाउँपालिका अध्यक्ष चक्र कार्कीले भन्नुभयो, “ एकल व्यवसाय गर्न चाहे एकलाख र सामुहिक रुपमा फर्मसहित बाख्रा पालन, कृषि उत्पादनका लागि पाँचलाख रुपियाँसम्म गाउँपालिकाले आर्थिक सहयोग गर्छ ।

दोगडाकेदार गाउँपालिकाले यो वर्ष ४० जनालाई विभिन्न आयमूलक कामका लागि आर्थिक सहयोग गरिसकेकाले उहाँको अवस्था हेरेर सहयोग हुने जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?