logo
२०८१ बैशाख ७ शुक्रवार



कनिष्टबाट कार्यसम्पादन मूल्याङ्कनप्रति आपत्ति 

शिक्षा |


कनिष्टबाट कार्यसम्पादन मूल्याङ्कनप्रति आपत्ति 



प्रकृति अधिकारी 
काठमाडौँ, भदौ ४ गते । कनिष्ठ भए पनि प्रमुख प्रशासकीय अधिकृतले मातहतका कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन गर्न पाउने परिपत्र गरिएपछि नगरपालिकाका शिक्षा प्रमुखहरूले आपत्ति जनाएका छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन भएका कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनसम्बन्धी नयाँ निर्णय गरी गत साउन ३० गते परिपत्र गरेको थियो । परिपत्रमा नगरपालिकाका १० औँ तहका कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन (कासमू) प्रमुख प्रशासकीय अधिकृतले गर्न पाउने स्पष्ट उल्लेख छ । 
नगरपालिकामा शिक्षा सेवाबाट गएका उपसचिवहरू १० औँ तहका छन् भने प्रमुख प्रशासकीय अधिकृत पनि उपसचिव नै हुन् । करिब दुई सयवटा नगरपालिकामा शिक्षा प्रमुखभन्दा कनिष्ठ प्रमुख प्रशासकीय अधिकृत छन् । काभ्रेको नमोबुद्ध नगरपालिकाका शिक्षा प्रमुख जनार्दन रिजालले सामान्य प्रशासन मन्त्रालयको पछिल्लो निर्णय आफूहरूलाई अमान्य रहेको  भन्दै थप्नुभयो, “दर्ता गरेको कासमू फारामलाई फिर्ता पाऊँ भनेर मङ्गलबार निवेदन बुझाउने निर्णयमा पुगेको छु । निजामती सेवा नियमावली विपरीत कनिष्ठले वरिष्ठको कार्य सम्पादन मूल्याङ्कन गर्ने कुरा स्वीकार्न सकिँदैन ।”
गाउँपालिका, उपमहानगरपालिका र महानगरपालिकामा यस्तो समस्या छैन । सरकारलाई सहयोग गर्न समायोजन हुँदा कनिष्ठअन्तर्गत आफूहरू जान तयार भएको तर यसलाई आफूहरूको कमजोरी ठानिएको प्रतिक्रिया उहाँहरूको छ । कतिपयले आफूले निजामती सेवा नियमावली (निसेनि) अनुरूप कासमू फाराम भरेको तर पछिल्लो निर्णयले आफूहरूमा काम गर्ने उत्साह नभएकाले आइन्दा नभर्ने पनि बताएका छन् । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका शिक्षा प्रमुख कल्पना घिमिरेले कनिष्ठले वरिष्ठको कार्यसम्पादन मूल्याङ्कन गर्ने कुरा कुनै पनि कानुनमा नरहेको भन्दै थप्नुभयो, “यसप्रति हामीहरूको आपत्ति छ, कर्मचारीतन्त्र खत्तम पार्ने योजना हो ।” 
नगरपालिकाका १० औँ तहका कर्मचारीको सम्बन्धित प्रदेशको प्रमुख सचिवले तोकेको सम्बन्धित सेवाको राजपत्राङ्कित प्रथम श्रेणी वा अधिकृतस्तर ११ औँ तहको अधिकृत पुनरावलोकनकर्ता रहने पछिल्लो निर्णय सामान्य प्रशासन मन्त्रालयले गरेको छ । काठमाडौँको टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रतीक पौडेलभन्दा शिक्षा प्रमुख बाबुराम गौतम वरिष्ठ हुनुहुन्छ । प्रमुख प्रशासकीय अधिकृत पौडेलले शिक्षा प्रमुख गौतम वरिष्ठ भए पनि आफूले निसेनि र परिपत्रअनुसार कार्य सम्पादन मूल्याङ्कन गर्ने बताउनुभयो । 
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाले कनिष्ठ भए पनि कार्यालय प्रमुख भएपछि वरिष्ठ मानिने स्पष्ट पार्दै भन्नुभयो, “सामान्य प्रशासन मन्त्रालयले निसेनि विपरीत निर्णय गर्दैन । शिक्षाका प्रमुखहरूले निसेनि राम्ररी पढ्नु प¥यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?