भरतपुर, पुस ८ गते । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई विकास निर्माणसँग जोड्नुपर्ने बताउनुभएको छ । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री पोखरेलले हिजोको जस्तो सामान्य ढङ्गले शिक्षामा गुणात्मक सुधार नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालको इतिहासमा पहिलो पटक एकीकृत शिक्षा नीति आएको छ, सामुदायिक विद्यालयलाई सबलीकरण कार्यक्रमको घोषणा गरेका छौँ ।” उहाँले नयाँ शिक्षा नीतिले उपक्षेत्रगत नीतिहरुलाई पनि व्यवस्थित गर्ने बताउनुभयो ।
मन्त्री पोखरेलले सामुदायिक विद्यालयलाई सबलीकरण गर्ने आयामहरु सरकारका तर्फबाट कार्यान्वयनको प्रक्रियामा लगिएको बताउनुभयो । “प्रधानाध्यापक, शिक्षक, समुदाय र स्थानीय सरकारको भूमिका राम्रो हुनुपर्छ”, उहाँले भन्नुभयो, “विद्यालयको जग्गा, कक्षाकोठा र अन्य भौतिक पूर्वाधारको सुधार आवश्यक छ ।”
उहाँले सामुदायिक विद्यालयलाई व्यवस्थित रुपमा चलाउन नयाँ ढङ्गले काम गर्नुपर्ने बताउनुभयो । हरेक सामुदायिक विद्यालयले गुरुयोजना निर्माण गरेर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।
अर्को प्रसङ्गमा शिक्षामन्त्री पोखरेलले मेडिकल शिक्षा अध्ययनरत विद्यार्थीको मागका सम्बन्धमा सरकारले ठीक कदम चालेको बताउनुभयो । उहाँले २०७४ सालदेखि लिइएको बढी शुल्क तत्काल फिर्ता र २०७२ देखिको हकमा आयोगको रिपोर्टका आधारमा निर्णय गरिने बताउनुभयो ।
कतिपय कलेजमा शुल्कको समस्या समाधान भएको भन्दै उहाँले बाँकी रहेका कलेजको पनि छिट्टै टुङ्गिने बताउनुभयो ।