logo
२०८१ असोज ३ बिहीवार



काठमाडौंमा ‘नेपालभाषा’ विषय पनि पढाइने

शिक्षा |


काठमाडौंमा ‘नेपालभाषा’ विषय पनि पढाइने


गोरखापत्र अनलाइन
काठमाडौँ, १३ पुस । काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि ‘नेपालभाषा’ विषयको पठनपाठन गर्ने नियम लागू गर्ने भएको छ । काठमाडौँ महानगरपालिका र जगत सुन्दर ब्वनेकुथिको संयुक्त आयोजनामा कक्षा १ देखि ८ सम्म पढाइने ‘नेपालभाषा’ विषयको पाठ्यक्रम निर्माणका लागि विज्ञहरुबाट सुझाव सङ्कलन गर्न आयोजित कार्यशाला गोष्ठीमा सो जानकारी दिइएको हो ।

महानगरपालिकाभित्रका कुल ४३५ विद्यालयमध्ये २७ विद्यालयमा ‘नेपालभाषा’को पढाई भइरहेको छ । कामपाको शिक्षा विभाग नेपालभाषा पाठ्यक्रम निर्माण समितिका सदस्य सचिव मोतिराज खनालले नेपालको मौलिक संस्कृति र भाषा भएको नेवाः समुदायको नेपालभाषालाई कुनै पनि हालतमा मेट्न दिन नहुनेमा जोड दिँदै महानगरभित्रका विद्यालयमा नेपालभाषा अनिवार्य विषयका रुपमा लागू गर्न महानगर प्रतिबद्ध रहेको बताउनुभयो ।

बाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीले कार्यशाला गोष्ठीको उद्घाटन गर्दै महानगरपालिकाका पछिल्लो कदमले विश्वमा कहीँ नभएको नेपालको मौलिक कला, संस्कृति तथा नेपालभाषाको जगेर्नाका लागि संङ्घीय सरकार तथा प्रदेश सरकारले पर्याप्त ध्यान नदिएमा नेपालको सम्पदा नासिएर जाने बताउनुभयो ।

त्रिवि केन्द्रीय विभागका प्रमुख ओमकारेश्वर श्रेष्ठले नेपालभाषा तथा यसका लिपिहरु विश्वकै लागि उदाहरणीय रहेको बताउँदै नेपालको सम्पदा नेवाः समुदायको मात्र नभई देशको सम्पदा भएकाले यसको संरक्षणका लागि सरकारसहित सम्पूर्ण नेपाली जनताको साथ र समर्थन आवश्यक रहेको टिप्पणी गर्नुभयो ।

संस्कृतिविद् प्राडा चुन्दा बज्राचार्यले आगामी शैक्षिक सत्रदेखि नेपालभाषा पढ्न पाउने महानगरपालिकाको कदमबाट सम्पूर्ण नेपालभाषा प्रेमीमा खुशीको संचार भएको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?