logo
२०८१ असोज ३ बिहीवार



शताब्दी नाघेकाे विद्यालय, नयाँ भवनसँगै पठन पाठनमा चमक ल्याइने

शिक्षा |
राष्ट्रिय |


शताब्दी नाघेकाे विद्यालय, नयाँ भवनसँगै पठन पाठनमा चमक ल्याइने


गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २१ गते । देशको जेठो विद्यालय दरबार हाइस्कुल र संस्कृत माध्यमिक विद्यालयको नयाँ भवनका प्रत्येक कक्षा कोठा बिद्यार्थीले भरिभराउ गर्ने योजना बनाइएको छैन । स्वभाविक हो अभिभावकले अत्याधुनिक भवनभन्दा शैक्षिक गुणस्तरका आधारमा विद्यालयको छनोट गर्छन् तर दुवै विद्यालयका शिक्षकहरु नयाँ भवनमा सरेपछि स्वतः विद्यार्थी बढ्ने तर्क गर्छन् ।
नयाँ भवनमा सर्ने दिन नजिक आइसक्दा पनि विद्यार्थी सङ्ख्या बृद्धि गर्ने योजना तयार पार्नेतर्फ शिक्षकको ध्यान जानसकेको छैन । दरबार हाइस्कुलका प्रधानाध्यापक अखिलेश आजादले भन्नुभयो, “अब कसरी विद्यार्थी सङ्ख्या बढाउने भन्ने योजना बनेको छैन ।” दुवै विद्यालयका शिक्षकहरूले भूकम्पपछि विद्यार्थी सङ्ख्या स्वातै घटेको बताउँदै आए पनि भूकम्पअघि हालभन्दा फरक स्थिति थिएन ।
विगत १२८ वर्षदेखि ती दुवै विद्यालय एउटै भवनमा रहँदै आएका छन् । तत्कालीन प्रधानमन्त्री वीरशमशेरले १९४८ सालमा नयाँ विद्यालय भवन निर्माण गर्न लगाइ तल्लो तलामा संस्कृत मावि र माथिल्लो तलामा दरबार हाइस्कुललाई राख्न लगाउनुभएको थियो । २०७२ सालको भूकम्पपछि नयाँ भवन निर्माण गर्नु परेकाले ती विद्यालय प्रदर्शनी मार्गस्थित बाल्मिकी क्याम्पस परिसरमा सञ्चालित छन् ।
दरबार हाइस्कुलमा कक्षा १–१० र संस्कृत माविमा कक्षा ६–१२ सञ्चालित छ । दरबार हाइस्कुलमा कक्षा १ मा जम्माजम्मी पाँच जना र संस्कृत माविको कक्षा ६ मा १० जना विद्यार्थी छन् । अन्य कक्षामा पनि विद्यार्थी सङ्ख्या उत्साहजनक छैन ।
दरबार हाइस्कुलमा १५० जना र संस्कृत माविमा २७५ जना विद्यार्थी छन् । झण्डै दुई हजार विद्यार्थी सङ्ख्या अट्ने नयाँ विद्यालय भवनमा सरेपछि कक्षा कोठाहरु खाली देखिने छन् । हरेक कक्षा कोठामा कम्तीमा ४० जना अट्ने बनाइएको छ ।
केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का आयोजना उपनिर्देशक दिलिपशेखर श्रेष्ठले विगतभन्दा दोब्बर ठूलो भवन र कक्षा कोठा निर्माण गरिएको बताउँदै भन्नुभयो, “यतिसम्मको अत्याधुनिक सुविधा सम्पन्न र भूकम्प प्रतिरोधी सामुदायिक विद्यालय भवन नेपालमै छैन । अब कक्षा कोठामा विद्यार्थी भर्ना विद्यालयले योजनाका साथ अगाडि बढ्नैपर्दछ ।”
हरेक कक्षा कोठा आठ मिटर लम्बाइ र पाँच मिटर चौडाइका छन् । कक्षा कोठा मात्र ४२ वटा निर्माण गरिएका छन् । खानेपानी, शौचालय, फर्निचर आदिका सुविधा उपत्यकाभित्र नभएका सामुदायिक विद्यालयभन्दा अब्बल बनाइएको छ ।
चीन सरकारको सहयोगमा निर्माण भएको नयाँ भवनमा आगामी वैशाख २ गतेबाट कक्षा सञ्चालन गरिने र आगामी वैशाख १२ गते औपचारिक रुपमा नेपाल सरकारलाई हस्तान्तरण गर्ने योजना बनाइएको छ ।
संस्कृत माविका प्रधानाध्यापक शिवराज अधिकारीले नयाँ विद्यार्थी ल्याउन लिखित रुपमा योजना नै नबने पनि ठूला कक्षा कोठालाई खाली हुन नदिने दावी गर्नुभयो । “नयाँ कार्यक्रम थप्नुपर्छ” उहाँले भन्नुभयो, “कर्मकाण्ड, ज्योतिष, संस्कृत भाषाका तीन महिने प्याकेज कार्यक्रम चलाउनुपर्दछ । ती विषय अध्ययन गर्न चाहनेहरु अहिले पनि हाम्रा सम्पर्कमा छन् ।”
उहाँले स्थान अभावले कक्षा ११ मा भर्ना हुन आएका कतिपयलाई फर्काउनुपरेको बताउनुभयो । दरबार हाइस्कुलका प्रअ आजादले विद्यालय व्यवस्थापन समितिको म्याद सकिएको बताउँदै भन्नुभयो, “नयाँ विद्यालय व्यवस्थापन समिति गठन भइसकेपछि त्यसले नयाँ योजना बनाउँला ।”
एउटै परिसरमा रहँदै आए पनि दुवै विद्यालयबीच पछिल्लो समय निकै द्वन्द्व बढ्दै आएको छ । रानीपोखरीको पश्चिमतर्फ विद्यालय रहेको जग्गा एकलौटीरुपमा आफ्नो नाममा बनाएको भन्दै संस्कृत माविले तितो पोख्दै आएको छ । विसं.१९९० सालको भूकम्पपछि निर्माण गरिएको भवनलाई दुई वर्षअघि भत्काउँदा त्यहाँका सामग्री पनि एकलौटीरुपमा बिक्री गरेर प्राप्त रकम एकलौटी गरेकोमा पनि संस्कृत माविको चित्त दुःखाइको विषय बन्दै आएको छ ।
पछिल्लो समय तला बाँडफाँटको विषयले अर्काे द्वन्द्व थपेको छ । संस्कृत माविका शिक्षकहरुले आफूहरु भूइँ तला र पहिलो तला पाउनुपर्ने माग गर्दै आएका छन् भने दरबार हाइस्कुलका शिक्षकहरुले आफूहरुलाई साढे दुई तला चाहिने भएकाले संस्कृत माविलाई डेढ तलामा खुम्च्याउनुपर्ने माग अगाडि सारेका छन् ।
काठमाडौँ महानगरपालिकाका शिक्षा विभाग हेर्ने अधिकृत मोतिप्रसाद भट्टराईले ‘बिग स्कुल’ को अवधारणाअनुरुप अगाडि बढ्नुपर्ने तर्कहरू अगाडि आएको बताउँदै भन्नुभयो, “एउटा स्कुललाई केन्द्रीय स्कुल कायम गरी त्यस वरपरका कम विद्यार्थी भएका वा क्षेत्रफलका दृष्टिकोणले नयाँ भवन निर्माण हुन नसक्ने विद्यालयलाई गाभ्ने नीति ल्याउनुपर्ने चर्चा भइरहेको छ । त्यस्तो निर्णय भएमा दरबार हाइस्कुललाई बिग स्कुल बनाएर अरुलाई त्यहाँ गाभ्दा विद्यार्थी सङ्ख्या थपिने अवस्था रहनेछ ।” दरबार हाइस्कुल र संस्कृत माविलाई नै गाभेर भानु मावि राख्ने तथा एउटै भवनमा साधारण र संस्कृत धार सञ्चालन गर्ने विषयमा पनि छलफल भइरहेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?