logo
२०८१ असोज ४ शुक्रवार



पढाइसँगै च्याउ उत्पादन

शिक्षा |


पढाइसँगै च्याउ उत्पादन


जनार्दन खत्री

सर्लाही, फागुन २६ गते । सर्लाहीको महादेव जनता नमुना माध्यमिक विद्यालय हरिवनमा बाली विज्ञान अध्ययन गरिरहेका विद्यार्थीले च्याउ उत्पादन गरी बिक्री गर्न थालेका छन् ।
विद्यालयको कक्षा ९ मा बाली विज्ञान अध्ययन गरिरहेका विद्यार्थीले कन्ये जातको तरकारी खाने च्याउ उत्पादन गरी बिक्री गर्न थालेका हुन् । आफूहरूले उत्पादन गरेको च्याउ विद्यालयबाटै प्रतिकिलो १५० रुपियाँमा बिक्री भइरहेको छात्रा अस्मिता स्याङ्तानले जानकारी दिनुभयो ।
उहाँले प्रयोगात्मक पढाइले आफूहरूमा ऊर्जा थपिएको बताउनुभयो । शैक्षिक योग्यता भएर पनि काम पाइँदैन भन्ने डर भएन, आफैँ च्याउ फलाएर बेच्न सक्ने भएका छौँ । स्याङतानले अन्त कतै काम पाइएन भने पनि घरमै तरकारी फलाएर आम्दानी गर्न सक्छु भन्ने आश पलाएको छ भन्नुभयो । विद्यार्थीले च्याउसँगै फूलकोबीको पनि खेती गरिरहेका छन् । च्याउले उत्पादन दिन थालिसकेको छ भने फूलकोबीको फल लाग्न थालेको छ । विद्यालयले चालू शैक्षिक सत्रबाट बाल विज्ञान विषयको पठनपाठन सुरु गरेको हो । सो कक्षामा अध्ययरत ४० जना विद्यार्थीले हाल च्याउ तथा फूलकोबीको खेती गरिरहेका विद्यालयका प्रधानाध्यापक जयशङ्कर सिंहले बताउनुभयो ।
उहाँका अनुसार विद्यार्थीले फलाएको च्याउ बिक्री गर्न विद्यालयमै काउन्टरको व्यवस्था मिलाइएको छ । विद्यार्थीले उत्पादन गरेको च्याउ स्थानीय बासिन्दाले उत्साहित भएर खरिद गरिरहेका छन् ।
विद्यालयको बाली विज्ञानकी प्रशिक्षक नवीना गहतराजले विद्यार्थीले निकै चाख लिएर च्याउ र फूलकोबी खेतीमा सहभागिता जनाइरहेको बताउनुभयो । उहाँले विद्यार्थीले फलाएको च्याउ कुनै व्यावसायिक किसानले फलाएको च्याउभन्दा कम छैन । सिक्नै क्रममा नै विद्यार्थीले देखाएको चाख र गरिरहेको मेहनत प्रशंसनीय छ भन्नुभयो ।
शिक्षा विभागबाट प्राप्त २६ लाख रुपियाँ अनुदानबाट महादेव जनता नमुना माविमा बाली विज्ञान विषयको पठनपाठन सुरु गरिएको हो । २६ लाख रुपियाँ अनुदान रकममध्ये १६ लाख रुपियाँमा प्रयोगात्मक सामग्री खरिद गरिएको र १० लाख रुपियाँ लागतमा ल्याब निर्माणको काम भइरहेको विद्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?